हो !
हो उनलाई धेरै पल्ट
गर्भमै नष्ट गर्न खोजियो
तर ती क्रुर कंशहरूको दुष्प्रयास
आज अकस्मात् निष्फल भयो
श्रृष्टि यहाँ गतिशील छ
योगमाया धरातलमा आउने नै भइन
सुलक्षिणा गृहलक्ष्मी बनेर
कसैको घर पवित्र पार्न
यो धरा स्वर्ग बनाउने कामनामा निमग्न हुँदै
सृष्टिको संकल्प लिएर
कसैको आँखाको कसिङ्गर बन्न
कसैको मन मुटुलाई लोभ्याउन
उनी आइन यो धरातलमा
आइरहेकी छिन् घरीघरी ।
थाहै नपाई बिते ती बाल्य क्षणहरू
उनले पढने पाठशाला बनेकै थिएनन
त्यो अंधकारमय भविष्य सम्झेर
उनी गहभरी आँसु बोकी मनमनै रुन्थिन
लुकेर रुन्थिन,रोइ रहन्थिन
अचानक आज
दक्षले सतीदेवीलाई झैं
उनलाई जिम्मा लगाइयो
एक अपरिचित मान्छेसँग
उनले मातृवात्सल्यता गुमाएर
जन्मघर छाडी पराइघर आउँनु पर्ने
संसारको कस्तो आश्चर्यजनक रीति
हे विधाता !
उनले मनमा वेदना बोकेर हाँसनु छ
उनले रिझाउनु छ कसैलाई
आफ्नो सर्वस्व सुम्पिएर
ऊ आफै रोएर अर्कालाई हँसाउनु छ
उनिलाई थाहा हुँदैन उज्यालो र अँध्यारो भएको
निरन्तर ऊ मेसिन झैं खटिरहेकी छन्
उनीलाई भोक तिर्खाले सताउन पाउँदैन
जति खाए पनि उनको भुँडी भरिनै पर्छ
शारिरीक थकावटहरू उनका निजा भइसकेका छन्
उनलाई चिसो र तातोको अनुभव पनि हुँदैन
प्रकृतिले नै उसलाई
समताको पाठ सिकाएको छ ।
रूनलाई एकान्त खोज्नु पर्ने हुन्छ उनले
अदृश्य हुन्छन् ती आँखाबाट झरेका बलिन्द्र धाराहरू
त्यो अन्तर्हृदयको चोटमा
मल्हम लगाउने कोही हुँदैन
उनलाई पराधीनभै बाँच्ने बाध्यता छ
अब
कसैलाई सन्तुष्टि दिलाउन
शारिरिक परिपक्वता नभए पनि
भावी सन्ततिको सिर्जना गरिदिनु छ उनले
आफू कुरूप भएर पनि
कसैको निम्ति बाँचिदिनु पर्ने
आहा ! कस्तो बिडम्बना
नौ महिना सम्मको कष्टकर पीडा सहेर पनि
कति नर र नारीहरू जन्माउनु छ
ती नरपिशाचहरूबाट शोषित भएरै
इच्छा विरुद्ध जिउनु छ उनले
कलङ्कमा डुबेर निन्दित हुँदै
नारीको अस्मिता बचाउँनु छ उनले
नारी
मात्र नारी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।