उनी राम्री थिइन् कि मलाई राम्री लागिन्
उनी शान्त थिइन् कि मलाई शान्त मायालु लागिन्
मैले स्वयंलाई प्रश्न गर्नुपर्ने थियो तर मैले गरिनँ
स्वयंलाई प्रश्न पनि गरिनँ उनीलाई पनि भनिनँ
तर किन उनको यादलाई पर सार्न पनि सकिनँ ?
कहिलेकाहिँ मनमा छटपटाहटको
आँधी नचलेको पनि होइन
तर आँधी साम्य पार्ने आँट खै किन हो
मैले गरिनँ कि गर्न सकिनँ ?
उनीलाई पनि भनिनँ, उनी अर्कैकी होलिन् भन्ने पनि सोचिनँ
तर उनी हिँड्ने बाटोमा आफ्नो पायक नपरे पनि
केको आशमा हो कोहीबेला हिँड्न पनि छोडिनँ
उनी कहाँ छन् मलाई केही थाहा छैन
तर मेरो मानस्पटलबाट उनको याद अझै अस्ताएको छैन
जब प्रेमको कथा, गीत वा कविताको प्रसंग आउँछ
उनको स्मृति मानसिक पर्दामा वर्तमानमा बनी आउँछ
घमाइलो क्षणमा वस्तुको छायाँजस्तै उदाउँछ
जब जीवनमा पीडा र कष्टले बिना निमन्त्रणा प्रवेश खोज्छन्
म उनका स्मृतिलाई आमन्त्रण गरी पीडाको
आसन खोसिदिने कोसिस गर्छु
कहिले सजिलै जित्छु तर कहिलेकाहीँ हार्छु
तर उनको स्मृतिले मात्र पनि उदासिन खोज्ने
यो मनलाई अति रोमाञ्चित पार्न म पक्कै खोज्छु
यो स्मृति कस्तो गहकिलो औषधि रहेछ
रमाइला तानाबाना बुन्दा नि मानसिक खुराक मिल्दोरहेछ
प्राप्तिमा बरू आफूलाई सम्हाल्न नजाने मन मुटाव हुँदोहोला
स्मृतिमा बगाउन मिल्ने रहेछ प्रेमको यहाँ पवित्र खोला
प्रेमको खोला बगाउन मिल्ने
मानसिक सन्देश पठाउन मिल्ने
स्मृति कस्तो गजबको सागर चुर्लुम्म डुबेर
नभिजी तैरिन सकिने
स्मृति कस्तो गजबको सागर चुर्लुम्म डुब्दा यसबाट
मानसिक खुराक कति धेरै हो मिल्ने
त्यै खुराकको बलबुतामा रहेछ
मानसिक पीडाबाट बाँच्न सकिने
प्रेमिल स्मृतिको महासागरमा पौडिन जान्नेले
यहाँ सच्चा प्रेमको मर्म बुझेका हुँदारहे छन्
उनीहरू शरीरप्रेमी होइन
आत्माका अनन्य प्रेमी हुँदा रहेछन्
प्रेमलाई शारीरिक आकर्षण नबनाई
आत्मबोध गर्ने साधन बनाउँदा रहेछन्
सच्चा प्रेमी त शान्तिप्रेमी हुँदा रहेछन्
प्राप्ति नभए स्मृतिमा रमाउँदा रहेछन्
स्मृतिमा रमाई सम्बन्धलाई जीवन्त गर्न
दिव्य प्रेमीहरू माहिर हुँदा रहेछन्
प्रेम जीवनको आधार रहेछ
प्रेमिल स्मृति मन भुलाउने साधन भएछ
पल, घडी, सेकेण्ड, मिनट अनि घण्टाभरि
रमाइला स्मृतिमा डुबाई मनलाई खुसाउनु उत्तम रहेछ
दिन, हप्ता, महिना, वर्ष अनि दशक गरी
आफ्नो भागमा परेको अभिनय गर्दै जीवन बित्दो रहेछ
आज फेरि स्मृति शीर्षकमा कविता लेख्दा
समय बितेको पत्तो नै भएनछ
घुमन्ते यो मन एकछिनलाई त रोकिएछ
फिरन्ते यो मन निकै पुलकित भएछ
फिरन्ते यो मन निकै पुलकित भएछ ।
पाल्पा, बर्तुङ, फूलबारी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।