मेरो पूजनीय, मेरो ईश्वर, मेरो जन्मदाता
कोटी कोटी नमन् तिमीलाई मेरी प्यारी माता

शब्द कुनै छैन आमा तिमीलाई धन्यवाद दिन
मलाई इच्छा जनम जनम तिम्रै कोखबाट जन्म लिन

नौ महिनासम्म आफ्नो कोखभित्र राख्यौ
मेरो खुशी माग्न कयौं मठ मन्दिर भाक्यौ
पहिलो अन्न तिम्रै हाथले खुवायौ आमा
पहिलो शब्द तिमीले नै बोल्न सिकायौ आमा
कति माया ममताले हुर्कायौ बढायौ
कष्ट पीडा झेल्दै मलाई आफ्नै खुट्टामा ठड्यायौ

तिमीले मेरो लागि भोगेका दुःखको ऋण तिर्न
सकुँला कि न सकुँला आमा
तिमीले चाहे जस्तो छोरा बन्न
सकुँला कि न सकुँला आमा ?

मलाई डर लाग्छ आमा
मैले छोराको कर्तव्य पूरा गर्न सकिनँ भने ?
मलाई डर लाग्छ आमा
यदि तिमीले पिलाएको दूधको भारा तिर्न सकिनँ भने ?

तर मलाई आशा छ आमा
तिम्रो आशीर्वादले मलाई कहीँ कतै चुक्न दिने छैन
मलाई विश्वास छ आमा
तिम्रो आदर्शले मलाई कुनै ठाउँ झुक्न दिने छैन

तिमी नै मेरो साहस हौ आमा
तिमी नै मेरो खास हौ आमा
जनम जनम आमा तिम्रै छोरा बन्न पाउँ
हरेक जनम तिमीलाई मैले आमा भन्न पाउँ
तिमी नै त हौ नि आमा मेरो जोश र जाँगर
तिमी नै त हौ नि आमा ममताको सागर !

तिमी पहिलो गुरू
तिमी पहिलो साथी
तिमी मेरो उज्यालो घाम
सबैभन्दा प्यारो लाग्छ मलाई मेरी आमा
आफैँभन्दा प्यारो लाग्छ मलाई मेरी आमा
मलाई मेरी आमा ।

कुमाख गाउँपालिका २
सल्यान, कर्णाली प्रदेश