बटुलेर
आँखाको बटुकिभरि
एक झरी रोइरहेकी आमा !
छातीमा बगेको गन्हाउने बाग्मती
छेवैमा ढलेकी विष्णुमति
रोइरहेकी इच्छुमति
हातमा उठेको प्लास्टिकको दुर्गन्धित पहाड
कतिन्जेल सहन्छ्यौ आमा ?
मुटुमा गडेका पीडाका सुइराहरू !!

विचार नै फोहोर भएपछि
चिन्तन नै रछान भएपछि
वातावरण कसरी सफा रहन्छ र ?
हामीलाई त सिर्फ भोट र सत्ता चाहिएको हो
हामीलाई त सिर्फ भागबन्डामा
एउटा अस्तित्वहीन भूगोल चाहिएको त हो !

बन्द गर प्लास्टिकका कारखाना
बन्द गर धुवाँको मुस्लो फाल्ने भटभटे
बन्द गर साराका सारा भट्टीहरू
जो उपयोगी भन्दा-
अनुपयोगी आगो ओकलिरहेछन

चराहरू उड्ने नीलो सफा आकाश खै ?
खै साना नानीहरू निस्फिक्री खेल्ने बगैंचा ?
खै हिमाली बतास बहने बाटो ?
खै आँखाको लागि उभिएको हरियो पहाड ?
खै सफा ताल तलैया ?
खै भुइँचालो आउँदा चिच्याउदै भाग्ने ठाउँ ?
खै आपत्तिमा समाउने हरियो रुख ?
खै हिटि कुवा?
खै पाटी पौवा ?
खै संस्कृति सस्कार ?
केवल सिमेन्टको जङ्गलभित्र
नाफाको निद्रामा सुतेका हामी
अब पनि नब्युझिए
कहिले ब्युझिने ?