केदारनाथ सिंह

दु:खको कुनै पहाड हुँदैन
न कुनै समुद्र हुन्छ दु:खको
केवल हातहरू हुन्छन्
मसिना-मसिना
जसले दिनभरि डोरी बुनेझैँ
बुनी रहन्छन् दु:ख

यसरी स-साना दु:खको
एउटा महान् गुन्द्री
बुनिन लागिरहेछ सदियौँदेखि
मेरो शहरमा
अनि तिम्रो शहरमा

जब साँझ पर्छ
ती बुन्दै गरेका हातहरू
थाक्छन् बुन्दाबुन्दै
त्यसपछि निदाउँछन्
त्यस अनन्त गुन्द्रीमा
जो आजसम्म
बुनेर सिध्याउन सकिएको छैन ।

***

केदारनाथ सिंह
अनुवाद : आरके अदीप्त गिरी
______________________________

केदारनाथ सिंह भारतीय प्रतिनिधि कवि हुन । सन् १९३४ मा भारतको चकिया (कलिया), उत्तरप्रदेशमा जन्मिएका उनले एम.ए तथा आधुनिक हिन्दी कवितामा बिम्बविधान शीर्षकमा सन् १९६४ मा पि.एच.डी प्राप्त गरेका छन् ।

उनका प्रकाशित कृतिहरूमा : ताल्स्ताय और साइकिल, यहाँ से देखो, अकाल मे सारस, उत्तरकवीर और अन्य कविताएँ, मेरे समय के शब्द, कव्रिस्थान मे पन्चायत, आधुनिक हिन्दी कविता मे बिम्बविधान छन् । सिंहका कविताहरू अङ्ग्रेजी, स्पेनी, रूसी, जर्मन आदि भाषामा अनुवाद भैसकेका छन् । प्रस्तुत कविता उनको साहित्य अकादमी पुरस्कार प्राप्त काव्यकृति “अकाल मे सारस”बाट अनुवाद गरिएको हो ।
***