एकै बार ठहरै मरेकाहरूले
जीवनभर बार बार मर्दै बहुरिँदै
बडो मुस्किलले सास धानिरहेका मनुष्यगणलाई
उपदेशको भाषामा जिस्काउँदै भनिरहेछन्:
“ए पाजी हो,
बाँच्छौ भने बार बार नमरी बाँच
हैन भने हरेक मृत्युको असह्य घायल पीडा सहेर
मुस्किलले निको हुन नपाउँदै
फेरि अर्को मृत्युको चोट खेपेर
जीवन-मृत्युको ‘भिसिसियस सर्कल’मा
बेस्करी घुमाइएको घुँएत्रो जसरी
फन्फनी रिङ्गिदै
पीडा र ग्लानिको र्‍याल र सिगानमा लत्पतिएर
भ्रमपूर्ण जिन्दगी कति बाँचिरहन्छौ?”

परलोकका ‘बिन्दास’ ती मृतात्मा भन्छन्:
“हामी त एक पटक सहज मरेका न हौँ
तर हामी हेरिरहेछौँ
तिम्रा पटक पटकका मृत्युका ‘लाइभ’ परिदृश्य
हो, कोही रोगी र ख्याउटे भएर हाडले शरीर थाम्न नसकेर मरेका छौ
कोही धेरै मोटाएर खुट्टाले आफ्नै बोसो थेग्न नसकेर मरेका छौ
कोही उन्नतिको उकालो उक्लिन नसकेर `एन्जाइटी´ र `डिप्रेसन´को पासोले बेरिएर मरेका छौ
कोही अरुको उन्नति र प्रगतिको ईर्ष्या र डाहले डामिएर मरेका छौ
कोही धनै धनको उन्मादले निस्सासिएर मरिरहेछौ
कोही ऋण र ब्याजको बोझले थिचिएर मरिरहेछौ
कोही आफ्नै लत, नसा र मातले मरिरहेछौ
कोही आफ्नाका लत, नसा र मातको मारले मरिरहेछौ
आफ्नाको माया पाएकाहरू शत्रुको पासोमा परेर मरेका छौ
पराइ र शत्रु जितेकाहरू आफ्नैका बात र घातले मरिरहेछौ”

हो, लाइभ दृश्यमा देखिरहेछौं
बाँचेका तिमीहरू पनि बेचैनीको मुस्लो धुवाँमा निस्सासिएर तड्पिरहेछौ
र अन्तिम सासको पर्खाइमा घिटिक घिटिक गरिरहेछौ
अरु त अरु, संघर्षको दौडमा पटक पटक पछारिदै उठ्दै बाँच्ने साहस बटुल्दा पनि
पल पल कुशासनको शूल रोपिएर भीष्मपितामह जस्तो अन्तिम जीवन धानिरहेछौ
त्यसैले, हे मनुजहरू हो
बार बारको पीडादायक मृत्युवरणवाट बाहिर निस्किन्छौ भने
र, हाम्रो जस्तै सहज र अन्तिम समाधि रोज्छौ भने
जलाउनुपर्छ तिमीहरूले लासहरू आफ्नै लाचारी र बेइमानीको
लोभ, ईर्ष्या, डाह र जलनहरूको
उन्माद, नसा र मातहरूको
घात र प्रतिघातहरूको
तमाम बेथिति र बेइमानीहरूको
अत्याचार र तिरस्कारहरूको
कुशासन, लुट र अकर्मण्यताहरूको !