बा मैले पनि तिमीले झैँ
लुकाएर भ्रष्ट्राचार गर्न
साठ्ठीमा तीन कोरी ढाँट्न
मुखमा रामराम बगलीमा छुरा गर्न
खाएको थालमा थुक्न
सिकिसकेँ
अब त मलाई छोडी देऊ न, तिमी बसेको त्यो कुर्सी

तिम्रै पिछा लागेर
स्कुल जान छोडेको उहिल्यै हो
जेल बसेकै पनि १८/१९ वर्ष भो
अब त मेरो योग्यतामा के कमी भो ?
त्यो कुर्सीमा चढ्न
त्यै भएर ए बा
अब त मलाई देऊ न, तिमी बसेको त्यो कुर्सी

बा त्यो खोला तल्लाघरेलाई बेचिसके
त्यो बालुवाको टारमा घर ठड्याइसके
दिनरात युवायुवती विदेश निर्यात गरिरहेछु
मुर्ति, धर्म बेचिरहेकै छु
तपाईंले अह्राएबमोजिम
बलात्कारीलाई प्रोत्साहन गरिरहेछु
वेश्यालयहरू खोलिरहेछु
त्यै भएर ए बा
अब त मलाई देऊ न, तिमी बसेको त्यो कुर्सी

आफन्तलाई बढुवा गरेकै छु
मन नपरेकालाई सरूवा गरेकै छु
ढुङ्गा हानभन्दा हानेकै छु
उपचार्थ विदेश जाभन्दा गएकै छु
सहकारी चलाभन्दा चलाकै छु
नदेको छु किसानलाई मल नदे भन्दा
मल र बीऊबीजन
भण्डारण गरेर कृत्रिम अभाव देखाएकै छु
दैनिक उपभोग्य सामानको भाऊ बडाएकै छु
गाउँ बनाउँछु भन्नेलाई लडाएकै छु
अघि बढ्न खोज्नेलाई पछारेकै छु
अब त मैले योज्ञता पुर्याएकै छु
दाह्री कपालमा सेतो लाएकै छु
त्यै भएर ए बा
अब त मलाई देऊ न तिमी बसेको त्यो कुर्सी ।

हालः क्यालगेरी, क्यानडा