सडक पेटीमा बेच्दै गरेको
ओर्काइफर्काइ सौदाबाजी गरेँ
मोलमोलाई बीस दामको मुठो
दंगदास भै पन्ध्र हालेर लगेँ
भाटा फोडेर गाँस जुटाउनै गाह्रो
मिठो मसिनो जुटाउनै साह्रो
साग देख्दा छोरी खुशी भइन्
बाबा हरियो साग खानु पर्छ रे
शरीरको हाड जोर्नी बलियो बनाउँछ रे
साग खानाले बुद्धि तेज हुन्छ रे
पाचन शक्ति बढाउँछ रे
आँखाको ज्योति बढाउँछ रे
सरले भनेको भन्दै मुठो खोस्दै लगिन्
लौ तेरा बाबाले पैसाको सत्यानास पारे
सागमा विषादी हाल्या हुन्छन्
बाग्मती र हनुमन्तेमा चोप्छन्
चार आनाको खुकुरी
बाह्र आनाको दाप
जार पानीले धोएर साध्य हुन्छ
बाहिर सागभित्र घाँसपात लौ हेर
ठगठाग गर्दै धुलोमाटो बेच्छन्
कुन दिनाँ चाइनिज दिशा भन्दै
ठेला लगाएर बेच्छन् यिन्ले
अन्धो सरकार टुलुटुलु हेर्छ
अनुगमन गर्दै गर्दैन
उपभोक्ता मर्या मर्यै छन्
हेर्नुस त गड्यौला सलबलाउँदै छ
छि छि भन्दै फोहरमा मिल्काइन्
धन हालेको गन भन्दै कराइन्
छोरीको अनुहार हेर्दै मनमनै भनिरहेँ
सागले स्मरण शक्ति बढाउँछ
शरीर स्वस्थ्य राख्छ
रोग लाग्न दिँदैन
पेट सफा गर्छ
दिसा पातुलो गर्छ
अनुहार चम्किलो बनाउँछ
मुटु बलियो बनाउछ…
अनि बुढापाकाले भनेको सम्झेँ
सस्तो बेसाः पेट लगुन्छ
घरको शासन
देशको प्रशासन सम्झेँ
कुरूप महङ्गी गरिपसँग दुस्मनी गर्दै छ
अभावमा खित्का छाडेर हाँस्छ
छोरीको फिस अनि खाजा
ग्यास सिलिन्डर खाद्यान्न तेल
महिना मर्दै छ घरभाडा
बाआमाको ओखतो
श्रीमतीको फर्माइस
श्रम शोषणको मजुरी
अवस्था अत्यासलाग्दो छ
गरीखान कहाँ पाइन्छ र
खान्थी खापडी पुन्थी काँ
चानो भाट माल गयो चानोसँगै
• महालक्ष्मी-०१, इमाडोल, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।