तीन मृत सहरहरूको सहर
केही भ्रष्टहरूको नाउँमा स्थापित
अराजक भवनका
भग्नावशेषले थिचिएर
नायकत्वको घोडा चढ्छ

तिम्रै सहरमा
आदीम राजकुमारहरूको खोपीमा
किच्कन्याहरूको प्रवेश हुन्छ
राजकुमारहरू भौँतारिँदै
फुटपाथमा निस्कन्छन्
र आफ्नै सालिकनेर उभ्भिएर
सालिकको अनुहारमा
पिच्च थुक्छन्

अतिरञ्जित विकासे भाषणहरू
हामी काँठेहरूलाई
तुल र ब्यानरमा फ्याँकेर
कोत्र्याहा राजपथहरू
ङिच्च हाँसिरहेका छन्
तीन मृत सहरहरू
पाटन
भादगाउँ
र कीर्तिपुर

उद्वेलित समुद्रजस्तै
जिन्दगीका जुलुसहरू
या लाशका जिन्दगीहरू
जिन्दगीका हैरानीहरू छिचोल्न
हेलिँदै हेलिँदै
काठमाडौँ खाल्टोमा
बुद्रुक्क हाम फाल्छन्
शताब्दीकै कोलाहल भएर
सभ्यताका चिहानहरू कोट्याउन
धर्मका अन्तिम युद्धहरू लड्न

ब्युँझ
मृत सहरका मृतात्माहरू
तिम्रै सहरको स्वयम्भूमा
ग्रिनेड आक्रमण हुन्छ
तर्सन्छन् पशुपतिका परेवाहरू
र बेगिदै उड्छन्
विभाजित आकाशभरि भरी
माथि माथि
मृत सहरहरूको अनुहारमा
बिस्ट्याउँदै बिस्ट्याउँदै ।

सुन्दरहरैंचा–६,
दुलारी, मोरङ