आँगनीमा तुलसीको मठ अगााडि
रङ्गीन कपडामा बेरिएकी थिएँ
चिन्ने नचिन्ने हरेक अनुहारमा आँशु
वरपरबाट भिडमा घेरिएकी थिएँ
कोही रुँदै त कोही थाकेर सुस्ताउँदै
कोही गन्तव्यमा लागिसकेका थिए
मलाई हरेकका ग्याजेटमा राखेर
फेसबुक, टिकटक, भ्युज मागिसकेका थिए
मरिसकेपछि मेरा गल्ती माफ गरेर
धूप र फूलहरूको बर्सात् थियो
सधैँ गाली गर्नेका मुखमा पनि
आज त तोडमोडको तारिफ थियो
जिउँदोमा एक गाँस नदिनेहरुको हातमा
मलमलको सानदार कात्रो थियो
मेरो काममा डाहा गर्नेहरूका हातमा
आज त गुणगान लेखेको पात्रो थियो
मेरा सत्य सुन्न र मान्न नसक्नेहरू
आज त आँगनमा भिड मात्र थिए
चीताको प्रतीक्षामा तेर्सिएको म
सास बिना र अर्थ बिनाको पात्र थिएँ
परिवारका अन्य पात्रहरू आज मेरा
तारिफ र प्रशंसाको फन्को बान्दै थियो
जिउँदोमा पाउन नसकेको पुरस्कार
आज मेरो मृत शरीरले तान्दै थियो
आँखा चिम्लेरै देखेको सपना थियो
धडकन तेज चिटचिट पसिना थियो ।
धनगढी, कैलाली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।