भन्यो –
सर्पलाई भ्यागुताले
हाम्रो वंश विनासमा कति लालायित हौ क्या !
हामीलाई प्रजातन्त्र देऊ
भ्यागुता एकता जिन्दावाद !
सर्पराज मुर्दावाद !
लोकतन्त्र जिन्दावाद !
हाम्रा भ्यागुते, चेपागाँडे सहिद अमर रहुन्
क्षतिपुर्ति दे, शहीद घोषणा गर।

भन्यो –
सर्पले गरुणलाई
हामीलाई न्याय चाहियो
हाम्रो सुरक्षा चाहियो
हाम्रो अस्तित्व मास्न पाइँदैन !
गरुणराज चाहिँदैन
हामीलाई मार्न पाइँदैन
गणतन्त्र जिन्दावाद !
सर्पहरू अमर रहुन् !
क्षतिपूर्ति दे, शहीद घोषणा गर

भन्यो –
गरुणले मान्छेलाई
हाम्रो वासस्थान मास्न पाइँदैन
मान्छेको शासन चाहिँदैन
के स्वतन्त्रतामा बाँच्न पाइँदैन ?
न्यायको आवाज चर्काउँछौँ
हामी हाम्रो शासन फर्काउँछौँ
हाम्रा माग पूरा गर
शहीद हाम्रा पनि छन्

भन्यो –
मान्छेले दलमा आबद्ध हुन पाउँ
मान्छे मार्ने सर्प चाहिँदैन
भ्यागुताको भुटन खाइँदैन
हाम्रै तन्त्र हाम्रै गान, गणतान्त्रान्त्रिक शासन हो पहिचान
शहीद हुनपर्यो घोषाणा, देऊ क्षतिपूर्तिको पोषण

कोही परबाट बोल्यो
पर्ख हेर
सबैलाई शहीद घोषणा भो
शहीदको मूल्य तोकियो क्रमिक सँगै
मूल्यवृद्धिअनुसार अनुपात गरेर समायोजन हुन्छ
मूल्याङ्कन हुन्छ
देश समृद्धितर्फ लम्कन्छ
कसैले कसैको अस्तित्व मेटन पाउने छैन

बिरालो रङ बदलेर बाघ भएको छ
मुसाले छेपारोसँग मीत लगाएको छ
बाघ बिरालो बनेर दुलो चहार्दै हिँड्यो
महान् आन्दोलनको नायक
भ्यागुताको स्तुति गर्दैछन्
सर्पलाइ दूध पिलाउँदैछन्
गरुणलाई पूजा गर्दैछन्
एकहुल मान्छे आजकल

तर,
भ्यागुता कान्लामुनिबाट माथि उफ्रन सकिरहेको छैन
सर्पले शहीदको खेति गर्दैछ जोडतोडसँग
अझै कति हेर्नुपर्ने हो यिनका रमिता
आँखामा बादल लागिसक्यो
आँखाले यी सबैलाई एकै रङका देख्यो ।

*******
बागमती, सर्लाही