देशको हाल सुनेर तिमी रुन्छौ पनि
अनि समाचार पढेर मस्तसँग सुत्छौ पनि
देश छोडनुको पीडा तिम्रोलागि कस्तो हो
कहिले रोएजस्तो पनि गर्छौ
कहिले हाँस्छौ पनि

कस्ले भनेको थियो तिमीलाई
देश छोडेर जाउ भनेर
विदेश गए पनि उतै बस भनेर
जबकी देश तिम्रो आफ्नो थियो
तिमी हुर्केको गाउँ आफ्नै थियो
साथी संगातिसँग गफ लडाएको, चौतारो पनि आफ्नै थियो
पुरानै भए पनि कान्लामाथि आफ्नै घर थियो

त्यस्तो देशलाई किन छोडेथ्यौ
साथी संगातिसँग मुख किन मोडेथ्यौ
नाता सम्बन्ध तोडेर किन हिँडेथ्यौ
जे जस्तो नै भए पनि
जीवन जिउनलाई देश कम थियो र ?

जब विदेशमा स्वदेशीबीच भेट हुन्छ
फेरि देशकै प्रसङ्ग चलाइहाल्छौ
देशको फोहोरी राजनीतिका कुरा
बाढी, पहिरो र बाटो बन्दका कुरा
अव्यवस्था र भ्रष्टाचारका कुरा
गाउँमा बाँध र पैनी बनाउँदाका, झगडाका र सम्झौताका कुरा
सानो जात र ठूलो जात बीचको विभेदको कुरा

अनि साइँली र माइलीसँग
गाउँमा घाँस काट्न गएको कथा
आफ्नीलाई हर्केले अनि बिर्खेकीलाई
आफूले फकाउन नसकेको पीडाका कथा
नदी तर्दा झन्डैझन्डै बगाएको कुरा
नदी किनारामा बसेर
माछा पोलेर खाएको कथा
साना कुरा, ठुला कुरा
साँचो प्यारको कथा
झुटो आशको कथा
त्यही आफ्नै देशको कथा र व्यथा
बिर्सनै नसकिने कथा र व्यथा भएको, त्यो आफ्नै देशलाई किन छोडेथ्यौ

जबकि देश तिम्रो आफ्नो थियो
तिमी हुर्केको गाउँ आफ्नै थियो
साथी संगातिसँग गफ लडाएको चौतारो आफ्नै थियो
पुरानै भए पनि कान्लामाथि आफ्नै घर थियो
त्यस्तो देशलाई तिमीले किन छोडेथ्यौ ?

तिमी खुशीले यसरी उफ्रिएका थियौ
जब एम्बेसीबाट भिसा लिएर फर्केका थियौ
हरेक नाता, कुटुम्ब र साथीसंगातिलाई, गर्वका साथ भिसा देखाएका थियौ
अनि खुशी हुँदै भनेका थियौ
केही समयको मात्र कुरा हो साथीहरू
जब म अर्कोपल्ट देशमा आउनेछु
प्रसस्त डलर लिएर आउनेछु
साथमा ग्रिन कार्ड पनि ल्याउनेछु

त्यतिबेला तिमीले सोचेका थियौ
विदेशमा के कस्तो अवस्था आउला
देश छोडेर विदेशमा
अहिले देशकै चिन्ता गर्दैछौ
अनि विदेशलाई देश मान्दै
आफ्नो देशलाई विदेश ठान्दैछौ

तिमी देशलाई दोष पनि दिन्छौ
मौका पर्दा देशलाई गाली पनि गर्छौ
हुन नसकेका कामको दोष
देशका नेता र कर्मचारीलाई दिन्छौ
तिमी देशलाई अब दोष नदेऊ
किनकि
देशले तिमीलाई छोडेको थियो र ?
तिमीले पो देशलाई छोडेका थियौ !

जबकि देश तिम्रो आफ्नो थियो
तिमी हुर्केको गाउँ आफ्नै थियो
साथी संगातिसँग गफ लडाएको चौतारो आफ्नै थियो
पुरानै भए पनि कान्लामाथि आफ्नै घर थियो
त्यस्तो देशलाई तिमीले किन छोडेथ्यौ ?

सूर्यविनायक नपा-५, भक्तपुर