चारैतिर पहाड
बीचमा काठमाण्डु
र त्यो उपत्यकामा
वरिपरि माटो ढुङ्गा रुखहरू
र साना साना घरहरूको
पहाड नभएर
सिङ्गै उपत्यका निल्न सक्ने
ठुला भुँडी र
ठुला मुख भएका
मानौँ केटाकेटीलाई सुनाउने
दन्त्यकथाका
राक्षसहरूको छविजस्तो भएको छ
जे पनि निल्न सक्ने
जति खाए पनि
कहिल्यै तृप्त नहुने
मायावि शक्तिमा परिणत भएको छन्

उपत्यका
एकदममै पहेँलो
अस्ताउँदो सूर्यजस्तो
अझ पहेँलो अझ चम्किलो
पहेँलो सुनमा परिवर्तित हुँदै
सुनहरूको
उपत्यका भएको छ !

कति रोपनीका माटो निलेर
अगस्तिले समुद्र निलेजस्तै
कति पोखरी पाटी पौवा
र कति खोला खोल्सी निलेका छन् !

हामीहरूलाई
कसैको भर नभएर
डर लागिरहेछ
कुनै पनि समय
कुनै पनि बेलामा
त्यो मुख र भुँडीमा पस्ने छौ कि भनेर !
अहिले उपत्यका
केटाकेटीलाई सुनाउने दन्त्यकथाका
राक्षसको छवि
जस्तो भएको छ !

उपत्यकाको
सिंह दरबारमा बसे पनि
नरसिंह हुन सकेका छैन !