हरेक रात सपना देख्छु
खडेरीले सुख्खा लागेको
तिर्खा र प्यासले छट्पटाउँदै रोएको
अनावृष्टिले अनिकाल लागेर
आकुलव्याकुल भएको
कहिले निरन्तरको अतिवृष्टिले
खेत-बारी, बस्ती बगाएको
पहिरो गएर घर, गोठ, गाउँ लगेको
रुख ढलेर किचेको
निस्सासिँदै भाग्न खोजेको
चराहरू बसाइँ सरेर अन्तै बेगिएको
हैजा लागेर सोत्तर चौपायासँगै
रोगव्याधी र महामारीले आक्रान्त
मनुष्य
सपना जहिल्यै यस्तै-यस्तै देख्छु
सधैँ ओरालो मात्रै झरेको
गाउँमा एकोहोरो शङ्ख बजेको
एउटा यस्तो जुग थियो
सपना पनि हरियो देखिन्थ्यो
चारैतिर हराभरा
खोलाको किनारै-किनार
खेतालाहरू खेत जान्थे
नदीको तटै-तट
नाविकहरू नाउ खियाउँथे
दिउँसोको घामले पनि भिटामिन दिन्थ्यो
दिनभरि माटोमा पसिना सिँचेर
बेलुका घर फर्किंदा
आँखाभरि मिठो निदले स्वागत गर्थ्यो
त्यो समय हरियाली थियो
यो समय उजाड छ
खराब सपनाको शृङ्खला
कचपचिएको रातमा
मलाई ऐँठन गर्दै
विपरीत दिशातर्फ बतासिन्छन्
पाषाण जुगका आदिम मानवहरू
धर्तीमा अमृतका बेर्ना सार्थे
बरु र अमृतभोज खाएर दीर्घजीवी हुन्थे
अहिले,
एउटा यस्तो युग आयो
कलियुगका भोगी मनुष्यहरू
रोगी हातले उग्र महत्त्वाकांक्षाको ब्याड राखेर
माटोमा सिधै विष बिज रोप्छन्
अनि प्रत्येक गाँसमा विष सेवन गरेर
अल्पायुमै मृत्युवरण गर्छन्
म चाहन्छु,
यी यावत् नराम्रा सपनाको समूल अन्त्य
विपनामै प्रत्यक्ष देख्न सकूँ
बिहानै घर छेउको बकैनाको बोटमा
भुरुरु उडेर आओस् वनचरी
त्यहीँ गुँड लगाओस्
त्यहीँ डिम्मा पारोस् र,
त्यहीँ बच्चा कोरलोस्
उसलाई यस्तो लागोस् कि
वन, जङ्गल, गाउँ, शहर जतासुकै
सुरक्षित छ ऊ
सपनाको अँध्यारोमा छ्टपटाइरहेको
वर्तमान
भविष्यको उज्यालोमा विपना भएर
मुस्कुराओस्
जहाँ,
घरको दलानबाट हिमाल हाँसेको देखियोस्
छेउमा उभिएर पहाड हरियो मुस्कान छरोस्
खोलाहरू बगेर खेत सिँचाइ गरून्
नदीहरू झरेर तराई उर्वर पारून्
गल्लीमा देखिऊन् वृक्षरोपण गरेर फर्किनेको ताँती
बाटोमा भेटिऊन्
तालतलैया सफा गर्न हिँड्नेको लस्कर
जीवनधून सुसेल्दै चराहरू रनवन नाचून्
चरनबाट फर्केका बाख्राको
बथानसँग मिसिएर
मृगका पाठाहरू घरसम्मै आइपुगून्
रमाउँदै
सालका पातहरू टपरी बनेर भान्सामा
सजिऊन्
घरको नाता वनसँग होस्
वनको सम्बन्ध घरसँग
सपना यस्तो देखियोस्
आँखामा हरियो चश्मा लगाएजस्तो
विपना यस्तो भोगियोस्
घामपानीको सम्मिश्रणले सर्वदा
इन्द्रेणी लागेजस्तो
सबैको साझा घर पृथ्वीमा
कुनै प्राणीको एकाधिकार नचलोस्
त्यो खण्डहर सपनाको पटाक्षेप भएर
एउटा हरित सपनाको अभ्युदय होस्
जस्तो कि,
रातभरि हरियो सपना देखेर ब्युँझिदा
बिहान विपनामा पनि
घामको किरणसँगै
भूमण्डलभरिको दृश्य
हरियै-हरियो देखियोस्
यत्रतत्र सर्वत्र ।
हालः इजरायल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।