उसलाई सब थाहा छ-
उसले विज्ञान पढेको छ
उसले गणित पढेको छ
उसले नैतिकमा त अत्यधिक
नतिजा ल्याएको रेकर्ड नै छ,
ऊ विद्वान् हो!
उसलाई सब थाहा छ।

सामाजिक-
यो त उसको चासोको विषय
अझ,
नक्सा बनाउन हुरुक्कै-फुरुक्कै हुने
आर्टिस्ट हो ऊ

अर्थशास्त्रमा अब्बल
भूगोलमा गोल्ड मेडलिस्ट
साहित्यमा ख्याति पाएको
लेखामा पनि खाइलाग्दो
अंग्रेजीको पेवर “सेक्सपियर”
राजनीतिको त ऊ (प्रा•डा•)
प्राध्यापक डाक्टर नै भैसक्यो

ऊ विद्वान् हो!
उसलाई सब थाहा छ।

उसलाई-
इतिहासका
गाता हराएका
अथाह कथाहरूसमेत थाहा छन्
ऊ दुर्लभ इतिहासकार पनि हो।

खेलकुदमा जमानादेखि नै
नकुदेरै उसले कैयौं कीर्तिमान
कायम गरिसक्यो
ऊ खतरनाक खेलाडी पनि हो।

उसलाई
धेरै भाषा बोल्न पनि आउँछ-
हिन्दी,
चाइनीज,
कोरियन,
अमेरिकन यस्ता कैयन!

“हि इज लाइक यान अल राउन्डर”

तर,
ऊ मौन छ !

कसैले
उसको देशलाई
जिस्काइरहेछ
सहनै नसकिने गरी
बेला बेला
ऊ भने मौन छ !

उसलाई-
आफ्ना पब्लिकको
चिन्ता पटक्कै छैन,
ऊ त “शोल रिपब्लिक”को हेडफोनमा
“हे राम हे राम” वाला
भजन सुन्दै पल्टिरहेछ-
तातो शहरको
झनै तातो नाम भएको
वालुवाटारको
कुनै चिसो तलाको झनै चिसो कोठामा
र गुनगुनाइरहेछ-
“हे राम”
“हे राम” घरी – घरी !

बाहिर चर्का स्वरहरू छन्,
बाहिर डरका स्वरहरू छन्,
बाहिर-
वर्षेनी आउने बाढीका दुःख
पहिरोमा पुरिने पहाडीका दुःख
पसिनाले पोलिरहने खाडीका दुःख
एसिडले जलिरहने नारीका दुःख
रित्तो पेटका भारीका दुःख
अन्न नपाएर ज्यान गुनाउनेका दुःख
अन्याय पाएर ज्यान गुमाउनेका दुःख
छल गर्ने छर छि’मेकीका दुःख
बाहिर दुखै दुःखका स्वरहरू छन्!

तर,
मेरो देशको विद्वानले
केही पनि बुझिरहेको छैन,

खाली “हे राम” “हे राम” मात्र गुनगुनाइरहेछ।

मलाई त लाग्छ
उसले पक्कै पनि
सबै विषय पढ्दै गर्दा
पढ्नै छुटाएछ “विषय नेपाली” !