बाबुराजा श्रेष्ठ यात्री

अनुहार धुमिल पारेर
पिँढीमा बसिरहनु हुन्छ रे
सोचमग्न विचारशील
एक्लो
मनमा कुराहरुको जुलुस बोकेर
लाग्छ सिङ्गो पहाड उभिएको हो
जेठा बा!

पहाडको हरियाली मरेर फुस्रो-फुङ्गोझैं
रुख पात बिना खडेरीले झरेझैं
सुकेका हाँगाहरु गलेर हात फैलाएझैं
वर्षौंदेखि कोही-कसैलाई कुरिरहेझैं
उदास हतासको उत्तरार्धमा हुनुहुन्छ रे
जेठ बा!

पहिले-पहिले यस्तो हुनुहुन्न थियो
गाउँको इमान्दार कर्तव्यनिष्ठ सिपाही
एउटा सिङ्गो खम्बा
कसैको दुःखमा दुःख बाँड्ने
कसैको सुखमा सुख साट्ने
गाउँको मियो
उहाँको चाल
उहाँको मान
उहाँको सान
उहाँको हँसाई
उहाँको बोलाई
उहाँको हिँडाई
बिछट्टको हँसिलो रसिलो भरिलो अनुहार बोकेर
सबैको प्यारो हुनुहुन्थ्यो
आज बाका थाकेका आँखाहरुले
सोध्न खोजेको प्रश्न
चुपचाप लामो आख्यान हो
बाका मुजामुजा परेको अनुहार
कुप्रिएको सिङ्गो जीवन किताब हो
यो किताबमा धेरै अटाए
तमाम स्वास्नी, छोरा-छोरी, आफन्तजन
जो घुमिरहेछ
देश विदेश आफ्नै बा बिर्सेर लगातार
उहिले मलाई पिठ्यूँमा बोकेर हिँड्नु भो
हट घोडा हट भन्दै
आफ्नै इच्छाहरु मारेर
मेरा हर इच्छाहरु पूरा गरेर
लक्का जवान बनाउनु भो
बदलामा दिने केही छैन मसँग
विदेशिनु सिवाय!
एउटा सियो बन्दैन मेरो देशमा
संस्कार यति विकृत भो
जहाँ तहीँ
हरेक घर आँगन चोक बजार गाउँ शहर
मलाई असम्भवझैँ लाग्छ
सभ्यताको विजारोपण गर्न
जसै फेरि तिम्रो फेरिएको अनुहार हेर्न
जेठा बा !

मन छ तिम्रो फेरिएको अनुहार पढ्न
तिम्रो आँखाको डिलमा राज गर्न
भागेका खुसीहरु सँगाल्न
र, हामी हिँड्ने तारे खेत
पौडने बुधरी खोला
टिप्ने ऎँसेलुका स्वादहरु
वनपाखामा गम्कने सुरिलो भाकाहरु
स्वर्गझैं लाग्ने टाकुरीमा घनिभूत पार्न
परदेशबाट फिर्ती हुन्छ यो छोरो
समयलाई जितेर
पर्ख जेठा बा !

सिन्धुली