केही वर्ष अघिको कुरा हो
मेरा बा
आफ्नै गाँस काटेर ठडिएको
समृद्धिको सोपानमा उभिएर
विक्षिप्त मनको वेग नापिरहेका थिए
हो त्यही बेला
विश्व मानचित्रमा
समृद्धिको स्केच देखाउँदै
सुपर ह्युमनको
अवार्ड लिन हानथाप गरिरहेको
निरीह युगमानव देखेर
मैले मेरा बालाई सोधेथेँ
बा !
यो “समृद्धि” भनेको के हो ?

बा बोल्नु भएन
पर पर हेर्दै
हावाको लामो सर्को तान्नु भो
बर्षौं देखि धुँवाको कसले फाल्सा परेको
फोक्सो फुलाउँदै
लामो-लामो सर्को तानिरहनु भो, तानिरहनु भो
लगातार खुइय गर्नु भो
तैपनि मुखबाट केही निस्केन
केही बोल्नु भएन
लाग्थ्यो त्यहाँ
बा र मबीच
मर्मत गर्न नसकिने फाटो छ
यो सबै देखेर मैले भने
बा यस्तो किन ?
यो त अति भो !
मेरो कुरा सुनेर पुर्पुरोमा धारे हात राख्दै
बा बोल्नु भो

छोरा !
तिमी उभिएको अलिकति धर्तीलाई हेर
र तिमी नै भनिदेऊ
खै तिम्रो नाभि गाडिएको माटो
खै ती सुरम्य डाँडाहरू
खै चिरशान्तिका स्थान
छहरा झरना
गोरेटो घोडेटो
फाँट खर्क
खेत खलियान
कुवा पँधेरा
कोइली जुरेली
गुराँस सुनखरी
जूनकीरी घामकीरी
ढिकी जाँतो
अर्म पर्म
परिवार समाज
सभ्यता संस्कृति
सम्पदा प्रकृति
खै जन्मभूमिको प्राण र प्रेमालाप ?

बाबु !
म समृद्धिको भुक्तभोगी हुँ
समृद्धिको यो रङ्गीन डबलीको नेपथ्यमा
मानवीय संकटको चर्को घण्टी बजिराछ
महाप्रलय घडीको सुई नजिकिदो छ
सुरम्य डाँडाहरूको गर्भमा डोजर आंतक छ
समाज विखण्डनको राष्ट्रघाती बिउ अङ्कुरित हुँदैछ
संसारले प्रकृतिमाथि रजाइँ गर्‍यो
प्रकृतिको जिवन्तता शोषण गर्‍यो
प्रकृतिको डकैती गर्‍यो
हेर ! रजाईको उन्माद
नैतिक निर्वस्त्रीकरण
अधिकार पाउने अधिकारको घोषणापत्र संसारलाई देखाएँ
मानवताको इतिहास अन्त्य हुने कुरा
संसारलाई सुनाएँ
संसारले मलाई समृद्धिको तमसुक देखाउँदै
यो युगको विरोधी ठान्यो

आज मलाई
मानिस भएको आरोप छ
आरोपबाट मुक्त हुन धुँवा पिउँछु
धुँवा पनि त समृद्धिकै सूचक हो भनियो
दुधे बालकदेखि वृद्धसम्म
कस्ले यो समृद्धिको प्रदूषित धुँवा पिएको छैन र
के तिमीले समृद्धिको नालबाट
विशाक्त धुँवा
पतपत धुवाँएको देखेका छैनौ र ?
आफ्नै आत्माको कत्लेआम गर्दै
म यो युग भुक्तान गरिरहेको छु
मर्न सक्दिनँ
बाँच्न पनि गाह्रो भो
म के गरुँ ?

यति भनेर संसारसँग हारेझैँ गरी
बा लामो सास फाल्दै रोक्किनु भो
पसिना पुछ्नु भो
एकतमासले सुख्खा खोकी खोक्नुभो
वर्षौंदेखिको मैलो कोट टक्टक्याउनु भो
खल्तीबाट सिरप निकाल्दै दुई बिर्को लिनु भो
डाक्टरको प्रेस्कृप्सन कच्याककुच्युक पार्नु भो
कन्दरा र खोँचतिर हेर्नु भो
कष्टकर आँखा टिलपिल टिलपिल पार्नु भो
हामी दुवै जना चुपचाप भयौँ
मेरो आधा मुटु
र आधा आत्माको जलन भो
बाको पनि त्यस्तै भयो होला
………
अहिले बा धुँवा लिनु हुन्न
बा र म दुवै जना समृद्धि लिन्छौँ
समृद्धिको यो टापुमा
अचेल म मौन छु
समृद्धिको रोशनीले जतिसुकै लपेटे पनि
ठालुहरूको गाथा बोकेर
देश झुक्ने गरी उठेको समृद्धिबारे
अब म बासँग कुनै बातचित गर्न चाहन्नँ ।