ॐ
लोडिङ…
किसान-पुराण, धर्ती-पुराण ठिक्क पार्नु
नौ-ग्रह, चन्द्र-सूर्य, मेघ, जल, वायु, प्रकृति
सबैको एक-एक थान तस्विर
कुशको ठुलै मुठो चाहिन्छ
लब हराएपछि
वाल्मीकिले
कुशबाट अर्को बालक, कुश बनाएझैँ
मानवीय कारणले
हराइसकेका तथा लुप्त हुन लागेका
सबै जनावर, चराचुरुङ्गीको
कुशको आकृति बनाएर
मृत्युञ्जय मन्त्र पढ्नुपर्छ
टाइम-ट्राभल गरी
विगतका गल्तीहरू सुधार्न
टाइम मेसिन तयारी अवस्थामा राख्नुहोस्
धर्तीलाई हानि पुर्याउने
ती सबै नरहरूको नरबलि दिन
पण्डित र जल्लादको समूह आउँदै होलान्
काठको खाट, पलङ, सोफा
जेजे फर्निचर छन्, ल्याउनुहोस्
ती वृक्षका कङ्काल हुन्
हातमा तील जौ समाएर
ती वृक्षका आत्माहरूलाई सम्झिएर
माफी माग्नुपर्छ
कोही हेलिकप्टरमा गएर
हिमालमा
तिखा फलामे काँडा भएका जुत्ता लगाएर
उसको शरीर लछारिदिएको
लात्तीले हानेको
तथा अनेक फोहोरले
कुरूप बनाइदिएको हुनाले
उसलाई स्नान गराई
शुद्ध बनाउनुहोस्
छातीमा बम राखी
पड्काइएका पहाड र चट्टानहरूका
अस्तु भेला पार्नुभयो?
केही इन्जिनियर र वैद्यहरू लगेर
घाउ लागेका ठाउँमा
प्राथमिक उपचार थाल्नुहोस्
अन्तरिक्षमा गएर
पृथ्वीको स्तुति गर्दै, पूजा गर्न
दूध, केशरी, अबिर, फलफूल
तथा अन्य पूजा सामग्री राखी
५/७ वटा रकेट
लन्चिङका लागि तयार पार्नुहोस्
सप्तऋषि, सप्त वैज्ञानिकलाई डाक्नुभयो?
तपाईँहरूले मलमूत्र मिसाई
दूषित बनाएको नदीको
प्राकृतिक एवम् आधुनिक फिल्टर प्रयोग गरी
हरेक थोपा पानी सफा गरी
नुहाएर शुद्ध हुनुहोस्
अष्टचिरञ्जीवीको आराधना गरेर
पृथ्वीलाई
चिरञ्जीवीको आशीष माग्नुपर्छ
अग्निकुण्ड तयार गर्नुहोस्
मान्छेका स्वार्थ, अहम् तथा सम्पूर्ण विकार
हरेक किसिमका प्रदूषणलाई
होममा चढाउनु पर्छ
सबै धर्मका
भगवान्हरूलाई साक्षी राखी
अत्याधुनिक तथा प्राचीन
वैज्ञानिक तथा धार्मिक
सबै तरिका प्रयोग गरी
आउनुहोस् सुरु गरौँ ‘धर्तीको अनुष्ठान’
फेसबुक तथा युट्युबमा
भक्तहरूका लागी लाइभ गर्न नभुल्नुहोला
असंबाधं बध्यतो मानवानां यस्या उद्वतः प्रवतः समं बहु
नानावीर्या ओषधीर्या बिभर्ति पृथिवी नः प्रथतां राध्यतां नः
ॐ
लन्चिङ…
———————————————–
श्लोकको अर्थ: ती धर्ती माता जो आफ्नो पर्वत, पाखा र मैदानको माध्यमबाट मानव तथा सबै जीवहरूको स्वतन्त्रता (बाहिरी र आन्तरिक दुवै) प्रदान गर्दछिन्, धेरै बोटविरुवा र औषधिजन्य गुण भएको जन्म दिन्छिन्, तिनले हामीलाई समृद्ध र स्वस्थ बनाऊन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।