सधैँजसो
गाउँको याद आउँदा
गाउँको अनुहार सँगै
सम्झन्छु उसको अनुहार

हामी सँगसँगै
गुच्चा खेलेर
गोठालो गरेर
बल्छी थाप्दै माछा मारेर
चराका बच्चाहरू झिकेर
पौडी खेलेर
सँगसँगै हुर्किएका हौँ

ऊ धरियो सतार हो
अर्थात
लख्खिराम सतारको छोरो

लख्खिराम
अर्कैको बारीमा हलो जोत्थ्यो
आली लगाउँथ्यो अर्कैको खेतमा
धान झर्थ्यो
दाउरा चिर्थ्यो
गोठालो गर्थ्यो
र सधैँ सधैँ
टालो माथि टालो थपेको लुगा लगाउँथ्यो

रक्सी पिएको बेला
भेटे जति चिनेको मान्छेलाई भन्थ्यो
नमस्कार मालिक
आज म मातेको छु

एकदिन लख्खिराम
बैशाखको चर्को घाममा
नशालु रक्सी पिएर
आलो रगत छादेर
बीच बजारमा
लगभग बेवारिस मर्यो

त्यसपछि
गाउँभरि हल्ला भो
लख्खिरामनी बौलाई
अर्थात्
लख्खिरामकी स्वास्नी

मैले देखेको हुँ
झारपातहरू टिप्दै
एकोहोरो बर्बराउँदै
छिटो छिटो
हिँडिरहेकी बाटोमा
एक डेढ महिना बहुलाई
हुनसक्छ
ऊ बहुलाउन सकिन

फेरि
माछा मार्न थाली
चिया बगानमा काम गर्न शुरु गरी
र जसोतसो हुर्काई
आधा दर्जन छोरा

ऊ अर्थात धरियो सतार
दिनभर चिया
बगानमा काम गर्छ
हरेक साँझ
रक्सी पिएर लर्खराउँदै फर्कन्छ
हातमा झुन्ड्याएर दुई छाक चामल

आजकल
उसको अनुहार
मेरो बाको अनुहारजस्तै
चाउरिन शुरु गरेको छ

लख्खिराम र लख्खिरामनीहरू
धरियो र धरियो सतारहरू
हाँस्छन्
गीत गाउँछन्
नाच्छन्
रमाउँछन्
तर म यिनीहरूको खुसीभित्र
कहालीलाग्दो
गरिबीको अँध्यारो देख्छु

सधैँजसो
गाउँको याद आउँदा
गाउँको अनुहारसँगै
सम्झन्छु
उसको अनुहार

अर्थात्
धरियो सतार।