मधु अवतार मधुरिमा
हर्षविभोर अविराम छ
मौन तारा प्रार्थनामा लिप्त
बिराजमान कोमल आत्मा
घरबारी वनपाखा सवार छ
परजनदेखि माहुरीसम्म
गमलादेखि अमलासम्म
अंग प्रत्यंग छन्‌ टम्म
नयाँ पल्लव घुम्टो उघारी
अमृत छर्छन्‌ अतृप्त
वसन्तोत्सव मनमोहक छ
सुनौला किरण चम्किरहन्छ
अनौठो लिन्छ सौरभले बोझ
मधुरस बोझिलो कसिलो छ
नित्य मुस्कुराउने फूल हुरुक्क
अघाइ पर्खाइ कति सौम्य छ
उषाको रातो गाला छुन्छ
उन्मादले वसन्त मात्तिन्छ
बिहान बेलुका स्पर्श चुम्बन
आँखा कस्तो छछल्किन्छ
हेर्दै छु पातपतिङ्गर जवानी छ
आफू झर्दै गरेको सम्झन्छु
मौन छु तर
म भित्रको वसन्त गाउँदैछ
हिमालय ध्वस्त गरे जस्तो
गर्जन्छ बारम्बार ऊ कुर्सीमा
खहरेझैँ विशाल गर्जन्‌ गर्छ
फुलेको फूल फलमा मस्त
झरेको पात मलमा परिणत
त्यस्तै पनि भएन ऊ
ऊ आफूलाई योद्धा भन्छ
कायरझैँ सम्झौतामा सकिन्छ
वसन्तोत्सव टुलुटुलु हेर्छ
कोयल यताउता गाउछ
परिवर्तनको अर्थ बुझ्ला र
पानीमरुवा वीर हुँ भन्छ
चाहे तलवार बोकोस कृपाण
धनुष बोकोस वा बाण
युगले परिवर्तन माग्छ
लंकेश जस्तो हुँकार छाड्दैन
कुरुक्षेत्र हिमाल बनाउदै छ
हात्ती आयो आयो फुस्सा
न भूषण न भीषण
खानु लाउनु बिछाउनु कथन छ
कागतालीको वर्षा यथावत छ
कलम बाँधिएको मुख थुनिएको
माड बिनाको परिधान बिनाको
बेलगाम स्वतन्त्रता बेकाम छ
डुलुवा चटुवा भेदुवाको चिच्याहट
अब बहिष्कार गर्नु छ
वसन्तोत्सवको यहीँ शुभकामना छ ।
महालक्ष्मी-०१, इमाडोल, ललितपुर