वाग्मती प्रदेश संयोजक: जानुका गुरागाइँ

सन्नाटा मसँगै हिँडू !

कलानिधि दाहाल

छन्द: अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

कलानिधि दाहाल

कलानिधि दाहाल

सन्नाटा वनको जस्तो लिऊँ समाधिको मन
मृगशावकको जस्तो बनाऊँ हलुको तन!
कर्‍याङ्कुरुङझैँ भीड पसी बुझूँ म यो जग
दिलज्योति जगाएर तेजले बलूँ जग्मग!!

तित्रा छन् मुखले त्याँ त्याँ कराउन् सक्दछन् जति
चासो कत्ति लिनू हुन्न आए गए यता कति!
भन्कन्छन् भुसुना ज्यादा सीमा गोबर गन्धमा
नहेरूँ नकुदूँ दौड सङ्कीर्ण अन्ध बन्धमा!!

छहारी छन् घना पात प्रेमका गीत गाउँछन्
समग्र विश्वको वक्ष एकतामा रमाउँछन्!
लहराले यता मन्द छन्दनाद सुनाउँछन्
चिबेचाँचरीले मुक्त कवित्व लय ल्याउँछन्!!

सुनगाभा सधैँ हल्ली आनन्द सुरमा सुर
डाँफे पाउ उचालेर हुँदै छन् नाँच्न तत्पर!
मयूर वनमा बुट्टे दार प्वाँख फिजाउँछन्
स्वार्थी मानिसका चाला यिनले नै गिजाउँछन्!!

हेरूँ शिखर उक्लेर पारूँ शिखर यो शिर
बौडाइ प्वाँखमा माथि देखूँ हेरी सबैतिर!
न चिसो मनमा हुन्छ न तापले सताउँछ
सच्चा जीवनको पाटो यही एक बताउँछ!!

न भकारी त्यता देख्छु न छन् महलका पति
ढिकुरा स्वार्थका देखी यता पोलिन्छु भत्भती!
सुरिला न कतै भाका सुनिने छन् यता कतै
लथालिङ्ग भताभुङ्ग हुन्छु आफैँ जताततै!!

न कल्लोल कतै कान आवाज सुन्न पाउँछु
न कलापी कतै रङ्ग तनमा छर्न पाउँछु!
न कल्पना कतै आस्था अन्तरा खोल्न आउँछ
न कल्पतरुका शब्द कलाले बोल्न पाउँछ!!

विना आवाज वा रङ्ग कल्पना रित्तिने घर
चरी उदास झोक्राई मजा जीवन हुन्छ र ?
म चञ्चु चुम्न जन्मेको भत्की स्वार्थी धरोहर
चेपारे गीतको भाका कहाँ हुन्छ मनोहर!!

छेपाराद्वारका भित्र सजाऊँ जति रङ्ग म
बेढङ्गे हारका चित्र बनाऊँ जति ढङ्ग म!
जम्मैअचम्म उक्ले भत्कन्छन् शैलका चुली
खण्डहर झरी खोज्छन् पत्नीका सुनका फुली!!

यस्ता धुर्मुसका बास भो चाहिन्न लगेस् उता
हल्लाखोर हुने झोर सोहोरेर लगेस् उता!
शान्त एकान्त आनन्द देऊ समाधि यो यता
सन्नाटाभित्रका आँट फैलिन्छु म जतातता!!
१०
काठमाडौं

होलीको शुभकामना

कृष्ण शरण उपाध्याय पौडेल

छन्द:इन्द्रवज्रा
गणः त त ज गु गु
विश्रामः पाँच अक्षरमा

कृष्णशरण उपाध्याय पौडेल

यो मृत्तिका का रङ छन् अनेक
झन् सप्तरङ्गी मन छन् हरेक
हे मित्र हो ! फागु मिलेर खेलौँ
सद्भाव मीठा बटुलेर खेलौँ ।

कोही पहाडी त कुनै हिमाली
कोही मधेसी तर हौँ दमाली
हे मित्र हो ! फागु खुलेर खेलौँ
नाचेर गाएर झुलेर खेलौँ ।

शत्रुत्व का पर्वत आज तोडौँ
मित्रत्व का सुन्दर सूत्र जोडौँ
हे मित्र हो ! फागु घुमेर खेलौँ
मस्ती जमाएर झुमेर खेलौँ ।

आफ्नो कला संस्कृति रीति बोकी
वैदेशिकी नीति कुरीति रोकी
हे मित्र हो ! फागु जमेर खेलौँ
बाजा बजाएर रमेर खेलौँ ।

राता र नीला रङ हालिहालौँ
काला कलेजी रङ फालिहालौँ
हे मित्र हो ! फागु विचित्र खेलौँ
आफन्त नाता घर भित्र खेलौँ ।

देवघाट, चितवन

निर्वाह होला अब !

होमनाथ घिमिरे

छन्द:शार्दूलविक्रीडित
गण: म स ज स त त गु
विश्राम:छ र बाह्र अक्षरमा

होमनाथ घिमिरे

हावा स्वच्छ सदैव वृक्ष हरियो आकाश झन् निर्मल
खाऊँझैँ पनि लाग्छ नित्य बहने नारायणीको जल
मैलो कत्ति थिएन मानिस हिजो हुन्थे सफा सुन्दर
धर्तीमा कसरी बिजोग थपियो दोषी छ को बर्बर ?

गाईले मृगले चरा कि लहरा उद्यान या फूलले
कल्ले दोहन यो गर्‍यो प्रकृतिको के स्वार्थ या भूलले
गाह्रो बाँच्न भयो बढ्यो कठिनता खै स्वच्छ हाम्रो घर
पानीका जति छन् मुहान अहिले सुक्दै गए झन् पर !

माटो भित्र अझै रसायन छर्‍यौँ सप्रिन्छ बाली भनी
लाग्यो रोग अनेक बज्जर बन्यो कक्रिन्छ माटो अनि
छैनन् स्वस्थ्य कुनै शरीर नरको थुप्रो छ रोगी घर
के हो कारण यो समुच्च पृथिवी बन्दै गइन् जर्जर ।

मान्छे मात्र भए सबैतिर यहाँ प्राणी तथा जङ्गल
घट्दै आज गए प्रदूषित जहाँ छैनन् कतै मङ्गल
मान्छेले सुविधा निमित्त कसरी मास्यो हरायो वन
मिथ्या आज भयो कहाँ छ हरियो नेपाल हाम्रो धन । ४

हामी भित्र अझै विचार गतिलो आएन कैल्यैपनि
रोप्यौँ झन् विषमात्र छैन अहिले फाँडेर सञ्जीवनी
सारा दोष रहेछ मानव खुदै हामी बन्यौँ दानव
ज्वालातुल्य निवास भित्र कसरी निर्वाह होला अब?

चितवन

बदल समाज

विदुर अधिकारी

छन्द:मृदुमाला
गण: न न न न गु गु

विदुर अधिकारी

सबतिर सकस छ, कलियुग आयो
जनबिच कलुषितपन अति छायो
हरपल कलह मनुजबिच हुन्छ
भन दिनदिन प्रिय मन किन रुन्छ
. (१)

जबजब भवबिच अधम रहन्छ
तबतब सबतिर गफलत हुन्छ
जतिजति कटुपन मनुज सँगाल्छन्
उतिउति जगभरि कलह उराल्छन्
. (२)

किन यस जगबिच जन बहुलाए
वन चउर र नद जति सब खाए
धनतिर मन किन बहुत लगाए
सकल भुवनभर असुर रमाए
. (३)

जलचर थलचर ग्रहगण तारा
गर यस जगबिच मधुर इसारा
वन-उपवन छर सबतिर लाभ
जन-जनबिच भर मधुर प्रभाव
. (४)

पलपल गुरुजन किन बहकिन्छन्
मृद वयतिर जन किन लहसिन्छन्
सुन गुरुवर अब यस जगमाझ
छर अमृत वचन बदल समाज
(५)
रामपुर, चितवन

वृद्ध

कल्पना भट्टराई अधिकारी

छन्द: विधान
गण:र ज र ज गु

कल्पना भट्टराई अधिकारी

ज्ञान सिक्नु वृद्धबाट भन्दछन् सबै
साथ मिल्छ मार्ग खुल्छ प्यारले सधैँ
धर्म,कर्म,मर्मका र शर्मका कुरा
वृद्धबाट सिक्नुपर्छ यी सबै पुरा ।

चढ्नुपर्छ माथि माथि साधनागरी
बाँच्नुपर्छ विश्वमाझ चेतना छरी
यत्न नित्य गर्नुपर्छ चढ्न टाकुरा
वृद्धबाट सिक्नुपर्छ यी सबै कुरा।

सभ्य शिष्ट बन्नुपर्छ भावना सफा
द्वेष दाग राख्न हुन्न चित्तमा सदा
धैर्य साथ सक्नुपर्छ घोट्न पाखुरा
वृद्धबाट सिक्नुपर्छ यी सबै कुरा।

स्वस्थ बन्न योग ध्यान गर्छ मानिस
वैरभाव राख्न हुन्न, हुन्न आरिस
भाँच्न हुन्न पाप लाग्छ फुल्छ आँकुरा
वृद्धबाट सिक्नुपर्छ यी सबै कुरा।

वृद्ध बुद्धका समान हुन् सदा गुरु
स्रोत हुन् र शिल्पकार अन्त्य वा सुरु
बोल्छ राम बन्छ नम्र धस्छ जो छुरा
वृद्धबाट सिक्नुपर्छ यी सबै कुरा।

हेप्न हुन्न मान राख वृद्धमा सदा
वृद्ध ठान्न सक्नुपर्छ दिव्य सम्पदा
गाउँ हाँस्छ, देश हाँस्छ, हाँस्छ यो धरा
वृद्धबाट सिक्नुपर्छ यी सबै कुरा।

काठमाडौँ

उल्टो किन ?

चूडा निर्भीक

छन्द हारिणी
गणः म भ न म य ल गु
विश्राम:चौथो र दशौँ अक्षरमा

चूडा निर्भीक

चूडा निर्भीक

मोटा घाटा बेस्कन बलिया खाडी कि छन् कोरिया
रित्ता बन्छन् गाउँ र घर नै बाँझा रहे खोरिया
बस्छन् बच्चा वृद्ध र महिला सुल्टो कुरो देखिन
घुम्ने पाङ्ग्रा राष्ट्र प्रगतिको चल्दैछ उल्टो किन ।

हत्या हिंसा रात दिन हुँदा चेली भए पीडित
सित्तै मिल्ने दौलत धनमा ती दाइजोका सित
यस्ता फोस्रा चाल चलनले दुख्दैछ नारी मन
आमा बन्ने शान्त प्रकृतिका बेचिन्छ उल्टै किन ।

को हो उच्चो जात थर हुने उस्तै छ सारा तन
खाने बाँच्ने बालिग हुन गै भोग्ने यहीँ जीवन
बग्ने रातै भित्र रगत हो के भिन्न छन् त्यो चिन
सेवा गर्ने गर्दछ जसले हेपिन्छ उल्टै किन ।

पैसा गन्ने काम सब ठगी कुम्ल्याउने दामको
लुट्ने धुत्ने गर्छ श्रमिकको यो राष्ट्र नेपालको
सोही गर्दै मोज गजबले बाँच्दैछ रातोदिन
यस्ता पीडा भोग्न विवश छौँ प्रारब्ध उल्टो किन ।

आमा दिन्छिन् कोख र शिशुले भेट्ने नयाँ जीवन
बाबा गर्छन् काम दिनदिनै मिल्छन् मिठा भोजन
बन्छन् रोगी वृद्ध जब उनै खेदिन्छ वृद्धाश्रम
पाल्नै पर्ने मानव गतिला फालिन्छ उल्टै किन ।

काठमाडौँ

चाहना

कल्पना काफ्ले

छन्द:मन्दाक्रान्ता
गण:म भ न त त गु गु
विश्राम: चौथो र दसौँमा

कल्पना काफ्ले

आफ्नै यौटा घरजमिन होस् साथमा नोकरी होस्
नातागोता वरपर सबै आत्मसम्मान छाओस्
छोराछोरी सब असल हुन् उच्चशिक्षा सबैको
हेर्ने इच्छा हरपल छ है टाकुरामा पुगेको ।

अग्ला अग्ला हिमशिखरमा हुन्छ सौन्दर्य बास
नक्सा कोर्दै घरतिर लगी छोपिराखूँ सुवास
धारो पानी घर र बिजुली साथमा खोज्न आउन्
सोचूँ साँच्चै क्षणभर कतै बिघ्नबाधा नआउन् ।

घुम्नेफिर्ने अवसर मिलोस् शानले डुल्न पाऊँ
खल्ती रित्तो कति पनि नहोस् खर्च आफैँ जुटाऊँ
निद्रामा झन् अति सहजले स्वप्न राम्रो म देखूँ
राम्रै राम्रो सुखसयलको काव्यधारा म लेखूँ ।

साथीसङ्गी मृदुल धुनका गीत मेरै बजाउन्
देख्दा मेरो मृदुवदन यो अप्सरा नै लजाउन्
मेरै आस्था सबतिर पुगी भावगङ्गा बगाओस्
हत्केलाको श्रमशिविरमा भाग्यले सिक्न आओस् ।

माटो मेरो झलमल बनोस् चम्कियोस् पाखुरामा
बाटो मेरो अलमल नहोस् लम्कियोस् टाकुरामा
मेरा आस्था जनक, भृकुटी, बुद्धको स्नेह पाऊँ
मेरो प्यारो हिमशिखरको गर्वले गीत गाऊँ ।

भक्तपुर

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू

१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर – प्रभा पोखरेल “फूल”

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail