हृदयको टुक्रा जत्तिकै प्यारी छोरीको मूल्य
पराइको छोरासँग बराबरी पार्न भनी
मेरा बाबा र उनका बाबाबीच
चलिरहेको छ मोलमोलाई
तौलिँदै हुन्छु म यसरी
केही थान दराज, टेलिभिजन, गाडी र सोफासँग थपिएर
हुनलाई एउटी योग्य बेहुली
तराजुमा चढ्न तयार
बाबाकी प्यारी छोरी म

जोडेर प्रतिष्ठा नयाँ घरसँग
भविष्यको खतरा कम गर्न भन्दै
जनाउँछिन् सहमति मेरै जननीले
बगाउँदै अश्रुधारा
नपरोस् खस्न छोरीले इनारभित्र
नपरोस् मर्न जलेर कतै भान्छामा भन्दै
गर्नु छ बिदाइ मेरो
थपेर भए पनि पहाड जत्रो ऋणको भार
बन्नु छ एउटी योग्य बेहुली
कछिँदै हुन्छु काँटाले बराबरी भै
आमाकी प्यारी छोरी म

साँच्चै निर्दयी क्रुर पहिचान बोकेको
ज्यान लिने र दिनेसम्मको खेल खेल्दै
निरन्तर अग्रगतिमा छलाङ मार्दै छ
यो कुप्रथा
केवल रोइरहेका छन् दिनेहरू,
खुसी छन् पाउनेहरू !
तर सधैँ बेचिएकोबेचियै छे एउटी छोरी
कहिले हैसियत मिलाउन परायासँग
अनि कहिले सान देखाउन आफ्नासँग
चाहेर पनि नचाहेर पनि
यही परम्परा र इज्जत धान्ने
भन्दै यही कुप्रथा दाइजोको नाममा !

कस्तो बिडम्बना !
प्रेमका आँसु बगाउँदै
छुट्टिनु छ आफ्नै आफन्तसँग
बेचिनु छ तौलिएर हैसियतले
कछिनु छ योग्य छु भनेर
तैपनि निश्चित छैन भोलिको कुनै
परजीवीले पाल्छ वा मारेर फाल्छ
तैपनि सम्पन्न हुन्छ बिहे
भोज भतेरको रौनकभित्र
बाआमा र दाजुभाइ भिराएर ऋणको भार
जानु छ अनिश्चित जिन्दगी जिउन
न नियति हो यो न कुनै सान
हो त केवल परजीवी पालिने कुप्रथा
अनि नारीमाथि ठाडो अपमान !
हरिप्रसाद गौतम