सबतिर धुमको पत्र छ कालो
उस्तै बाक्लो घोर तुँवालो
जलथल विषलेयुक्त भएछन्
ज्यूँने आशा ह्रास हुँदैछन्। १

सललल बग्ने पानी छ कालो
जलचर दिनमै देख्छ अँध्यारो
हेर्दै रुन्छिन् धरणी आज
बहिरो, अन्धो बन्छ समाज। २

कालो रङले रुखका पत्ता
जीर्ण हुँदैछन् मसिना बच्चा
फेर्यो वनको रङ भो कैलो
नजरकुनामा खुल्दछ मैलो। ३

चिरबिर चाँचाँ मीठा गाना
छैनन्, सबतिर शून्य समान
लुछ्दछ मानिस मनको दास
किन यति दुष्ट छ मानव जात। ४

अब सब जनले चेतन दीप
बाली खोजौँ आफ्नो विवेक
धारण नगरे हुन्छ विनाश
पृथिवी सबकी अति प्रिय बास ।५

स्वीन्डन