मानिसहरूले
तिमीहरूले
हामीहरूले
उनीहरूले
तिमीले
मैले
यदि यो प्रकृति बिगार्न
हामीहरू एकअर्कालाई दोष थुपरिरहेका छौँ भने
आऊ, हामी सामूहिक आत्महत्या गरौँ !
ब्रह्माण्डको शिर भ्वाङ पारिरहेछौँ हामी
नदीका घाँटी प्यासले सुकाइरहेछौँ हामी
जंगलको केश मुण्डन गरिरहेछौँ हामी
धर्तीलाई विषपान गराइरहेछौँ हामी
यति धेरै जघन्य अपराध गरेर
प्रकृतिको कठघरामा उपस्थित भएर
झुटो मुद्दा लड्नुभन्दा
आऊ, हामी सामूहिक आत्महत्या गरौँ !
धर्तीका आँखाहरूमा विनाशको अश्रुग्यास फालिरहेछौँ
हावा आफैँलाई श्वास फेर्न नसक्ने बनाइरहेछौँ
दुई तिहाई स्थान ओगटेर बसेको पानीलाई धकेलिरहेछौँ
घामको अनुहारमा धुवाँको मुस्लो पोतिरहेछौँ
बादलको फोक्सोमा
जब पर्छ घामको एक्स रे देखिँदैनन् इन्द्रेणी धर्साहरू
यी सबै गल्ती थाहा भएर निर्लज्ज बाँच्नुभन्दा
आऊ, हामी सामूहिक आत्महत्या गरौँ !
हात्तीका दाँत हामीलाई व्यक्तिगत सम्पति लाग्छ
गैंडाले आफ्नो खागको अंश छुट्याउनु पर्छ भन्छौँ
मृगका र बाघका छालाले हाम्रो घर सजिऊन् सोच्छौँ
सुगा र मैना कैद गरेर उनीहरूको स्वतन्त्रता खोस्छौँ
पानीमा करेन्ट बगाएर माछाहरूका हत्यारा बन्छौँ
हामीलाई मयूरको प्वाँख मन पर्छ नङ्ग्याइदिन्छौँ
हामीलाई बाघका दाह्रा मन पर्छ झिकिदिन्छौँ
हामीलाई बाह्रसिंङ्गेका सिङ मन पर्छ भाँचिदिन्छौँ
हामीलाई सिधा रुख देख्नै हुन्न ढालिदिन्छौँ
सर्प, गोहीका छाला काडिदिन्छौँ
पहाडका छातीमा बम पड्काएर सखाप पारिदिन्छौँ
हिमालको शिर ग्लोबल वार्मिङको तातोले पगालिदिन्छौँ
तराईका फाँटहरूका हरियो लुगा च्यातिदिन्छौँ
संसारका करोडौँ जीव मध्येको एक जीव हामी
हामी आफैँले आफूलाई सर्वश्रेष्ठ प्राणी घोषणा गरेर
मपाइँत्वको सबैभन्दा तल्लो स्तरको कर्म गरिरहेछौँ भने
आऊ, हामी सामूहिक आत्महत्या गरौँ !
हामी आफ्नो देशलाई आमा भन्छौँ
तर अर्काको देशमा बम खसाल्छौँ र आमाको हत्या गरिदिन्छौँ
मान्छे भएर मान्छे मार्नु हामीलाई अन्दोलन लाग्छ
परिवर्तनको लागि जीवन उत्सर्ग गर्नुपर्छ भन्छौँ
हामीहरूलाई लाग्छ-
यो ब्रह्माण्ड हामीले बनाएका हौँ
यो शताब्दी र त्यो शताब्दी
यो काल र त्यो काल नभई संसार नै चल्दैन
विकासको यो चरम हामी बिना सम्भव छैन
के यो विकासले मान्छेबाहेक अरुलाई फाइदा भएको छ ?
के यी वाद र विज्ञानले मान्छे बाहेकको जीवन सहज भएको छ ?
यति ठूलो भ्रममा जानाजान रहेर बाँचेको ढोंग गर्न भन्दा
आऊ, हामी सामूहिक आत्महत्या गरौँ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।