आँखाले सिमाङ्कन गर्दै-गर्दै
नाप्न थाल्यो भने प्रकृतिका लयहरु
देख्नेछौ हामी हुनुको सार्थकता
हामी हुनुको सुन्दरता
अझ गहिराईमा नियाल्दै जाने हो भने
मौसमसँगै बदलिरहने
समयको रङ पनि प्रष्टै देख्नेछौ
शिरमा हिमचुली मुस्कुराइरहेको
सुन्दर नदी, झर्ना र जलधारहरू सुसेली रहेको
डाँफे, मुनाल र मुजुरहरू नाची रहेको देख्नेछौ
मिजासिलो त्यो घाम र बतास
सबको भलो चिताउँछ र समावेशी भइरहन्छ
जाई-जुई र बेली-चमेलीहरू, लालीगुराँस र मखमलीहरू
आफ्नै सुन्दरतामा रूमलिन्छ र प्रेम बाँडिरहन्छ
त्यो मठ-मन्दिर, गुम्बा र चौतारीहरू
हाम्रो आस्थाको धरोहर हुन्
जहाँ, हरबखत, हरक्षण
लुङ्ता, दर्ज्यु र शान्तिका ध्वजाहरू
फरफराइरहेका हुन्छन्
विश्वासका मुन्दुमहरू गुन्जिरहेका हुन्छन्
प्रकृतिको काखमा मीठो व्यञ्जन पस्कने
कला, भाषा, भेषभूषा र चाडपर्वहरू
सधैँ गुञ्जिरहने टुङ्ना, डम्फु र मुर्चुङ्गाका धुनहरू
मेलापातमा गाइने पालम, हाक्पारे र सेलोहरू
सुख-दु:ख बिसाइरहेका भञ्ज्याङका चौतारीहरू
ढुङ्गा, माटो र बोटबिरुवाहरू
यिनै हुन् हाम्रो पर्यावरण
यिनै हुन् हाम्रो सम्पदा
हामीले विकास र संरक्षणको नाममा
पुरानो संरचना भत्काउनु हुँदैन, मास्नु हुँदैन
बरु, नयाँ युग निर्माण गर्न
तनमन र वचनले
प्रकृतिलाई प्रेम गर्नुपर्छ ।
मरिण गाउँपालिका-३ बरुण, सिन्धुली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।