लाग्छ म यो विषादी समयको
विद्रुप अनुहार अनि आघात चित्कार हुँ

ओ ! हाड, छाला भएका तर गिदी नभएका
निर्बुद्धि प्राणीहरू हो
कृपया मलाई एकैछिन तपाईंहरूको कान सापटी दिनुहोस्
र, सुन्नुहोस् मभित्र दन्किरहेको वेदनाको सिम्फोनी

मेरो सुन्दरतामाथि छर्कन खोजिरहेछ
आयातित आधुनिकतावादी छलछाम: एसिड
मेरो धरातलमाथि टेक्न खोजिरहेछ
प्रायोजित साम्राज्यवादी कोलम्बस बुट
र मेरो कुमारित्व लुट्न खोजिरहेछ
अधर्मी विरूपाक्ष आँखा

म साँचो साँचो बोल्दछु
समयको पापी पेटभित्र एकदिन अनिकालको बिज उम्रनेछ
तातो धुँवा फुकिरहेको फोक्सोको लघुआयु निख्रनेछ
मुटु, कलेजो र पित्त क्रमश: कुहिएर झर्नेछ
र पनि सजिलै वरण हुनेछैन मृत्यु — मानिसलाई
कुँजो शरीर
अचेत मस्तिष्क
विस्मृत यादहरू बोकेर
जीवनको अन्तिम सास धरौटीमा फेर्नेछ
जसरी महँगा अस्पतालका आइसियुमा
केही थान अक्सिजन किनेर बाँचेकाहरू हुन्छन्

मेरो अङ्गप्रत्यङ्ग
तौलेर
ताछेर
नापेर
जोखेर
मलाई बेचेका ए ! भू-माफियाहरू
तिमीहरू बस्ने कस्मो : सहरभित्र
खनिराखेको छु नजन्मिएका सन्तानहरूका लागि
मैले कङ्क्रिटको चिहान

बनाएर खण्डहर
मेरो अस्तित्वमाथि धावा बोलिरहेका
नाथे ए ! कागजका खोस्टाहरू
कान ठाडोगरी सुन् !
हजार सालपछि सायद तेरो अस्तित्व पनि
समयको अग्निकुण्डमा हुनेछ स्वाहा !
विनाशकाले विपरीत बुद्धि !
आफ्नै खुट्टामाथि हानेर बन्चरो
केन्द्रको घुम्नेमेचमाथि विराजमान साला ! अन्धा शासक
आन्द्राभुँडी निस्कनेगरी फुटनेछ तेरो पापी पेट कुनै दिन
र देख्नेछस् तैँले कसरी पृथ्वीको चर्बी पग्लेर
आकाशको प्वालबाट खस्दछन् आगोका जिब्राहरू

मेरो यौवनमाथि गिद्देडोजर चलाउन पल्केका
ए ! कलियुगका सत्ताधारी पिपाशु
आफ्नै आमाको रगत पिएर नमेटिएको अतृप्त प्यास
तरूणी रानीपोखरी देखेर पलाएको अश्लील भोक
सुनेको छु नयाँ दिल्लीलाई बेचेका छन् रे !
देशका दलालहरूले मेलम्चीको चोखो जवानी
तर जति नै खन्याए पनि बागमती—विष्णुमतीमा शुद्धपानी
सिंहदरबारबाट भने मलाई मुर्दाहरूको तीतो गन्ध आइरहन्छ

तथाकथित आधुनिक मानवसभ्याताको विरूद्धमा
म हिमालय पर्वतको शिरदेखि बग्दैबग्दै
गङ्गाको नीलो ओडारभित्रबाट
थाकखोलाको कालो कागबेनी उपत्यका चिर्दैचिर्दै
टुक्चेको गहिरो जराभित्रबाट
जुगौँदेखि निर्निमेष बगिरहेको
आदिम हिमनदी हुँ (कालिगण्डकी)

इतिहासको अदृश्य मुहानबाट निरन्तर बग्दै आएको
मेरो वर्तमान प्रतिरोधको वेगलाई दबाउन खोज्ने
ए ! वैस्ययुगका धमिराबाट उम्रेका छिचिम्राहरू
के तिमीहरूलाई था’ छैन ?
उँधै उँधो दौडिरहेको अनादिकालदेखिको मेरो गति
कथं बौलाएर उँभो चढ्यो भने
के रहन्छ होला र यो मानव सभ्यातको इतिहास ?