जब जीवनमा सफलताले रङ भेट्दैन
अरु रङहरू फिक्का लाग्ने रहे

म हिँड्दैछु पन्छाई सङ्घर्षका बाटा
रङ्हीन दुनियाँमा कतै हराएझैँ लाग्ने रहेछ

म हिँड्दै छु, शून्यताका बाटा
र बटुल्दै छु, मिहिनेतका रङहरू
म हिँड्दै छु, आत्मविश्वासलाई साक्षी राखेर
सफलताको थोरै झिनो आशा बोकेर।

नआत्तिनु तिमी मेरो जीवन बेरङ देखेर
म हिँड्दै छु, सपनाका रङहरू लिएर

जब सफलताले भेट्छ रङहरू
पन्छिन्छन् सङ्घर्षका बाटाहरू
रङ्गीन लाग्न थाल्नेछ दुनियाँ
तब मनाउँला त्यही सफलतामा खुसीका रङहरूले
मिसाउँला प्रगतिका क्षणहरू
थपौँला पूरा भएका सपनाहरू
अनि खेलौँला होलीका रङहरू ।