म अगाडि बढ्छु, ऊ काँध थप्थपाउँछे
स्याबासी दिन्छे
म लडखडाउँछु, ऊ हात समाउँछे
गन्तव्यमा पुग्ने हिम्मत दिन्छे

म अवाक् हुन्छु, ऊ बोली बन्छे
म धेरै बोल्छु रोक्दै नरोकी
ऊ मौनतामा आत्माविश्वास दिन्छे
ऊ प्राकृतिक बन्छे, बासुरीझैँ सुरिलो सुर दिन्छे
म काराओकेझैँ अर्गानिक प्रीत दिन्छु

ऊ ठुस्स पर्छे, म मात्तिएर खिल्खिलाउँछु
ऊ सुनसान हुन्छे, हराउँछे अनि टोलाउँछे
म मर्ने गरी उसको पेटमा काउकुती लगाउँछु
ऊ अत्तालिएर खित्का छोड्दै जोड जोडले हाँस्छे
हामी एकअर्कालाइ हेर्छौं,हरियो मैदानमा
डर्लङ्ग उत्तानो परेर लड्छौँ
उसलाई जून मनपर्छ, तारा मन पर्छ
मलाई हरियो पहाड, डाडा-काँडा मन पर्छ

ऊ निडर मसान घाट चहार्ने
महिनाबारी हुँदा पूजापाठ नबार्ने
भन्छे त्यही महिनाबारी रोकिएको
रगतले जन्मेका पुरुष, महिनाबारी हुँदा
महिला अछुत अनि चार दिन भान्सा नचल्ने

हामी भेट्दा घण्टौँ बात मार्छौं
छुवाछुत, विकृति अनि कुरीतिलाई
हजारौँ फिट खाल्डो खनी गाडछौँ
हामी यो मानसिकताको घोर विरोधी
समाज नि यस्तै भए जाती होला भन्छौँ

दहेजप्रथा, महिलामाथि अन्याय अनि थिचोमिचो
एसिड प्रहार कतै नाबालिकाकै बलात्कार
दाइजोको नाममा कुटपिट अनि महिला हिंसा
मट्टितेल छर्की आगो लगाई दाइजोको निउँमा विध्वंश

छोरीहरूको हिंसात्मक हत्या
सहने हामीले कहिलेसम्म
न्याय मरेको देशमा यसै
सतिले सरापेको हैन होला

यस्तै यस्तै कुरा गर्छौं
हामी कति भावुक बन्छौँ
यो बिरानो मुलुकमा हामी
आफ्नो हराएको अस्तित्व खोज्छौँ

हुन त नवजात हैन
२० वर्षकै छिप्पिएको मित्रता
हामी एकअर्कालाई अनगिन्ती माया गर्छौं
तर लडाईंको सिपाहीझैँ एकअर्कासँग लड्छौँ

म भन्छु, दयालु हुनुपर्छ
ऊ भन्छे, तेस्को नि एउटा सीमा हुन्छ
म भन्छु, सकेसम्म सबैलाई गर्नुपर्छ
ऊ भन्छे, पहिला आफ्नो खल्ती भर्नुपर्छ
अनि अरुलाई आर्थिक मद्दत गर्नुपर्छ

ऊ भन्छे, पहिला आफूलाई सक्षम बनाऊ
म भन्छु, सँगसँगै अरुलाई नि लिँदै जाऊँ
ऊ भन्छे, तँ जगत् आमा बन्न छोड्दे
म बत्तीसै देखाउँछु र मुस्कुराउँछु
अनि भन्छु, भैगो यस्तो कुरा छोड्दे अब

ऊ नरिवलजस्ती, बाहिर कडा भित्र कोमल
म तराईकी आँपजस्ती, कोमल अनि कडा
ऊ भन्छे, आफ्नै बच्चा किन जन्माउनु ?
माया नपाएका धेरै बच्चा छन्
एउटालाई जिम्मेवारीले आफ्नो बनाउनु

म परिवारमै समर्पित गहिरो भावले
ऊ भन्छे, निःस्वार्थ माया नै परिवार हो
साइनो रगतको होस् या भावनाको
माया माया नै हो, अफ्नैका होस् या अरुको

जीवन जिउने कुरामा ऊ उदार छे, म सकस
मायामा ऊ बहादुर छे, सीमाना परिधि तोक्दिन
म सीमामै बस्छु, ठिकै छ भन्छे
उसले मलाई रोक्दिन

हामी भन्छौँ, समाज परिवर्तन हुनुपर्छ
महिलामाथि मात्र हैन
पुरुष अन्यायमा छन् भने
दाजुभाइ बुवाको कुरा नि सुन्नुपर्छ

ऊ भन्छे, अहिले नरोकी कलम चलाऊ
आफ्नै मानसिकता बदल्नु ठुलो हो
बिस्तारै अरु परिवर्तन हुन्छन् किनकि
विचार हावा हो अनि कुरीति धुलो हो

हावाले धुलोलाई
एकदिन अवश्य उडाउँछ
हामीले सोचेजस्तै
एकदिन परिवर्तनको बहार आउँछ

यस्तै छ हाम्रो मित्रता
ऊ खुल्ला आकाशजस्तो नडगमगाउने
म घामपानी सँगैको इन्द्रेणीजस्ती
क्षणिक उदाउने अनि महिनौँ हराउने

सोच्दैछु, लागिपरुँ कलम चलाउन म
हरेक दिन सूर्य उदाएझैँ अनि हरेक रात
चन्द्रमा आकाशमा छाएझैँ
नरोकुँ, हिँडिरहुँ, गन्तव्यमा जुझारु बन्दै
हाम्रै मित्रताको सुवास छर्दै
समाज परिवर्तन गर्ने गवाही बन्दै ।