सम्पन्न सुख स्वर्ग पनि रहन्न स्वर्ग अभावमा यसको
भुइँको मान्छे सातौं-आसमान छुन्छ प्रभावमा यसको
बिर्सिन्छ मानिस धरातल, समाज, परिवार, मान-मर्यादा
बगाउँछ मस्त-मग्न भई खोला सरि रुपियाँ-लगावमा यसको
आराम-विश्राम, सुख-चैन, पीडा-मर्म, हर्ष-विस्मात, गर्मी-जाडो
मिलन-विछोड, मन भारी‑मन हल्का, साँझ-बेलुका
सुन्नुमा-सुनाउनुमा , प्राप्तिमा-गुमाउनुमा
शून्यमा – मेह्फिलमा, पापमा- पुजामा ।।
चाहिने हरेक जसोलाई हर बेला – चिज हो यो एस्तो !
तलतलाहट, बढ्दो मृग तृष्णा – चाहियो हर हालमा !
यो स्वर्गलोकमा इन्द्र पिउँदछ, पिई देवगन बक्दछन् दिव्य वाणी !
यो रसहरूको महा-रस-महा-मधु,अमृत !
साक्षात् इन्द्र पनि झुम्दछ यसको तालमा
र मैले पनि, पिएको थिएँ, पिएको छु भरपुर जवानी जिउनकै लागि
वा कतै मैले पिएको हुँ, पिउँदैछु नितान्त अर्को रात पिउनकै लागि
पिउँदैछु नितान्त अर्को रात पिउनको लागि
दर्जीको खोजीमा छु फाटेको मन सिउनको लागि
देख्दछु म परिश्रमी, जिन्दगी बेची हिँडेको-थोरै त्यही जिन्दगी बाँच्नकै लागि
फेरि देख्छु म प्रेमी पीडामा पनि हाँसेको-रहेछ यादहरू आखिर साँच्नकै लागि
मैले पिएको छु, पिएँ फेरि आज यो स्वार्थी संसार भुलाउनको लागि
साथ दुई पलको पनि कति मार्मिक-सारा जीवन रुलाउनको लागि
म डुब्छु आँशुको तलाउमा-केवल आँशुको तल्तल मेटाउनकै लागि
म हिँड्छु अँधेरी रातमा, प्रज्ज्वाल्यमान जूनको ज्योति भेट्टाउनकै लागि
म नशामा छु, झुमिरहेछु
मधु-मातमा घुमिरहेछु
मैले पिएको हुँ भरिएको मनको बाँध खुलाउनको लागि
मैले पिएको छु स्वार्थी संसार सारा भुलाउनको लागि
साथीभाइसँग पिउन बसेँ, पिएँ जवानी जिउनकै लागि
एकान्तमा पिएर लडेँ, पिएथेँ जवानी मेटाउनकै लागि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।