त्यो एक दिन आउनेछ
म धेरै थाकेको हुनेछु
त्यो थकाइ
मेरो जीवनको सबै थकाइहरू भन्दा बेग्लै हुनेछ
सगरमाथा चढ्दै गरेको आरोहीको भन्दा बेग्लै
प्रसव पीडा भोग्दै गरेकी युवतीको भन्दा बेग्लै

त्यो एकदिन आउनेछ
म मस्त निद्रामा सुत्नेछु
ब्रह्मनालको बिछ्यौना हुनेछ
त्यो अप्रतिम निद्रा
मेरो जीवनको सबै निद्राहरू भन्दा बेग्लै हुनेछ
तब म
तिमीले सुम्सुम्याएर उठ्ने छैन
तिमीले घच्घच्याएर ब्युझिने छैन

त्यो दिन
कसैले मलाई बिर्सिसकेका हुनन्
कोही सम्झेर रोइरहेका हुनेछन्
तिमी नियालेर हेर्नु
त्यो दिन
आधा आकाशमा घाम लागेको हुनेछ
आधा आकाश भने झरी बनेर झरिरहेको हुनेछ

म थाक्नुअगावै
समुद्र मन्थन गर्नु छ मैले
विष पिएर अमृत ओकल्नु छ मैले
अनि,
म निदाउनुअगावै
नगरेका धेरै गर्नुछ मैले
नबोलेका धेरै बोल्नुछ मैले

त्यो भव्य एक दिन अवश्य आउनेछ, जहाँ
दुख्ने घाउहरू दुख्ने छैनन्
बिझ्ने वचनहरू बिझ्ने छैनन्
पोल्ने घामले पोल्ने छैन
पिरोल्ने बतासले पिरोल्ने छैन

हो,
म त्यो दिनको तयारीमा छु
म धेरै हतारोमा छु
जहाँ म झर्नुअगावै
लेख्नु छ मैले अलिखित कथाहरू
म धेरै चटारोमा छु
जहाँ म अस्ताउनुअगावै
छर्नुछ, मैले असीमित ज्योति पुञ्जहरू ।

 

(राष्ट्रिय कविता महोत्सव -२०८० मा  यो कविता उत्कृष्ट २५ कवितामा पर्न सफल भएको थियो  । )

नर्थ क्यारोलिना, अमेरिका