१. छाया

उदाउँदो घामसँगै
बदस्तुर जारी थियो
एउटा लडाइँ
तपिस केही जवानीको थियो
त्यसभन्दा बढी ताप तिम्रो सामीप्यको थियो
जीवन जिउने क्रममा
पचाइएका थकाइहरूको
आफ्नै फेहरिस्त होलान्
तर समाएका हातहरू छोडेर
जब बैमान जवानी पर सर्न खोज्छ नि
तिम्रो कस्सम
साथ पाउन यो मन
तिम्रो मायाभन्दा अघि
आफ्नै छाया खोज्दो रैछ !

२. पानीसरी मन

हिजो नै त हो
झ्यालबाट
एउटा साँझ यसरी हरायो
जसरी हरायौ तिमी
गोधुलीको रक्तिम रङमा !
थाहा छैन
क्षितिजको कुन फेरो समाएर
बाँधी ल्याउँ तिमीलाई ?
तै बरू साँझले
आफ्नो लाली त पठाइदेला
बिहानीको पोल्टोमा राखेर, तिमीले के पठाइदिन्छौ?
पानीसरी भएर बगेका मनहरूमा !

धरान