समय चक्रका डोबसँगै पोखिन्छन्
कहिले शब्द बनेर
कहिले वाक्य बनेर
कहिले संग्रह बनेर
मसीका रङमा सजिएर भोगाइका
घाउहरू श्वेत पन्नामा सुन्दर अक्षर बनेर

स्मृतिको पन्नामा पोखिन्छन अक्षरहरू
तमाम नाट्य श्रृङ्खला बनेर
रङहीन आँशुका थोपा बनेर
आवाज विहीनका शब्द बनेर
सत्यलाई छोपिएको अँध्यारोको
चम्किलो ज्योति बनेर

नील गगनमा चम्किन्छन् अक्षरहरू
जुनेली किरण बनेर
दूषित तलाउमा समेत फक्रन्छन्
सुन्दर कमल बनेर
काँडाहरूबीच पनि फुलिदिन्छन्
सुन्दर आकर्षक फूल बनेर

उषाको पहिलो लालिमा पोखिन्छन्
सुनौलो पर्या बनेर
प्रकृतिको पनि माध्यम
बन्छन् अक्षरहरू
कहिलेकाहीँ शीतको थोपा बनेर

तिता मिठा जीवनका अनुभवका
पोकाहरू जब मनभरि हुन्छन्
अनि चारैतिर छरिन पुग्छन्
अक्षरहरू
मीठो सङ्गीतका धुन बनेर
सुमधुर गीत बनेर
जब सङ्गालिन्छन् अक्षरहरू
बिछोड, चोट र पीडाहरूबाट
तब फैलिन थाल्छन्
संसारभरि सद्मार्गीका अदम्य साहसिक पाइला एवं
दिव्य ज्ञान बनेर

जब असफलता भोग्छन् अक्षरहरूले
तब चम्किन्छन् मार्गनिर्देशक बनेर
जब लम्किन्छन् सफलतातर्फ
तब शान्तिको धुन बजाउँछन्
दिव्य दीप बनेर ।