मेरो पनि जीवन
अरुहरूको जिन्दगी जस्तै छ
जन्मेदेखि मरणसम्म
भातकै परिक्रमा गरिरहेको छ

भात अचम्मको वस्तु रहेछ
सबै यसकै लागि कुद्नु पर्दोरहेछ
कोहि भातमा रमाउँदा रहेछन्
कोही भातकै लागि लड्दा र भिड्दा रहेछन्
र, कोही-कोही त भातकै खोजीमा मर्दा रहेछन्

आखिर भातमा कस्तो अजीव शक्ति रहेछ
बिहानै सबेरै उठ्नेहरूदेखि
अपराह्नमा जाग्नेहरूसम्म सबै
भातकै लागि मरिहत्ते गर्दा रहेछन्
भातकै लागि धोखाघडीमा लाग्दा रहेछन्
र, भातकै लागि हास्ने र रुने गर्दा रहेछन् ।

म नाथे को हो र !
भातलाई प्रिय नठान्ने
भातका लागि मरिहत्ते नगर्ने
षड्यन्त्र र खुराफात नगर्ने

भात मेरा लागि अमूल्य निधि हो
आधारभूत आवश्यकता हो
बिहान, दिउँसो र साँझ
सदैव चाहिन्छ मलाई भात
बाँच्न र बचाउनका लागि

भनिन्छ र सुनिन्छ पनि
कोही बाँच्नका लागि भात खोज्छन्
तर, कोही भातका लागि बाँचेका हुन्छन्

थाहा छैन, म चाहिँ
कुन वर्गमा पर्दोरहेछु
भातका लागि जिएको छु
या भात मेरा लागि बाँचेको छ

भात अजीव छ
धनी गरिब, सामन्त विपन्न
सबैको आवश्यकतामा पर्दछ
किनकि भात र मान्छे
एकअर्काको परिपुरक भएका छ्न्
भातले मान्छे
र, मान्छेले भातको संरक्षण गरेको छु

हो, यस्तै समाज र दुनियाँको
म हुँ एक भातमारा
जो भातका लागि बाँचेको छ
र भात उसका लागि बाँचिदिएको छ

त्यसैले मैले भन्नुपर्छ
भातको जय
भातमाराहरूको जय ।

रोज भिलेज, भक्तपुर