प्रिये –
म तार टुटेको वीणाजस्तै थिएँ
एक दिन अकस्मात तिमी मेरो जीवनमा तार बनेर आयौ
र मालिङ्गोको बासुरी सँगसँगै वीणा बजाएर जीवनका सबै अगेय गीतहरू गायौ

वनकालीको वनमा जीवनका अगेय गीतहरू गाइरहँदा
यस्तो लागि रहेको थियो प्रिये
एक छिनको लागि त्यहाँ –
हावाले आफ्नो वेग रोकेजस्तो
नदीले आफ्नो बहाब रोकेजस्तो
सृष्टिले आफ्नो नियम रोकेजस्तो
ती सबका सबले आफ्नो गति रोकेर तिम्रो कर्णप्रिय –
आवाजबाट निस्केको मधुर संगीत सुनिरहे जस्तो
जसरी हरबखत म सुनिरहेको छु तिम्रो समीपमा रहेर
जिन्दगीका आफ्ना कठोर र कष्टदायी क्षणहरू भुल्न

तिमी कोही अलौकिक मान्छे त होइनौ प्रिये
तर
तिम्रा सुकोमल यादहरु मेरालागि अलौकिक बनी रहेका छन्
तिम्ले दिएका यादहरूलाई मलजल गर्न मैले कयौँ रातहरूलाई बर्बाद गरेको छु
र – त –
म निर्धक्क भएर भन्छु, “म तिम्रो हुँ ।”

प्रिये –
तिमी मात्रै एक यस्तो आधार बनिदिन्छौ –
जिन्दगीबाट थाकेको बखत विश्रामका लागि बिसौनी बनिदिन्छौ
तन र मन दुखेको बखत सान्त्वना दिँदै मलमपट्टी बनिदिन्छौ
भनी साध्य छैन के-के बनिदिन्छौ के-के बनिदिन्छौ
परिवेश र परिस्थितिअनुसार बाँचेको यो एक जिन्दगीमा सबथोक बनिदिन्छौ ।

आदर्श -०३, डोटी