ह्रदयकाे अतल गहिराईमा
यादहरूकाे साम्राज्य छ
रहरहरूकाे क्रन्दन र चीत्कार
अनि आँसुहरूकाे सराेवर छ

थाहा छैन,कहिलेदेखि
बिस्तार हुँदैछ
याे कुरुप साम्राज्यकाे सीमा
तितामिठा यादहरू
एक एक जाेडिदै छन्
हाँसोभन्दा आँसु
खुसीभन्दा पीडा धेरै
मृतप्राय सपनाहरू
साम्राज्यमा राज गर्दैछन्

आफैँमा पराधीन भई
म बाेझ बाेकिरहेकाे छु, याे साम्राज्यकाे
खै कताबाट उदाउला र त्याे सूर्य
जसले नष्ट गराेस्
अन्धकार यो साम्राज्यको
खोज्दैछु आफैँभित्र एउटा योद्धा
जसले मेटाओस्
नामाेनिसान याे भूमिगत साम्राज्यको
फुलाओस् फूल हृदयमा आशाको

भूमिगत साम्राज्यको
यो दुःस्वप्नबाट मुक्तिको लागि
बिस्तारै उत्रिदै छु म
हृदयको अतल गहिराईमा
बिना भय
आत्मविश्वासको धनुष बोकी
उत्रेर गहिराईमा
ठिक समयमा म चलाउनेछु तीर
र शिरोच्छेदन गर्नेछु
याे भयग्रस्त साम्राज्यकाे
याे राेगी साम्राज्यको

समरमा उत्रिदैछु
म आफैँभित्र
मलाई अलिकति आत्मविश्वास थपिदेऊ न
अन्धकारभित्र यात्रा गर्दैछु
साथी, मलाई अलिकति ज्योति थपिदेऊ न ।

रत्ननगर‑३, चितवन