मधेश प्रदेश संयोजक : सरू बस्नेत

मान्छे

विष्णु न्यौपाने

छन्दः शार्दूलविक्रीडित
गण: म स ज स त त गुर
विश्राम:छ र बाह्र अक्षरमा

विष्णु न्यौपाने

मान्छे जङ्गलको जनावर भयो टेक्दैन पल्लो घर
आफ्नो जाति परम्परा र ममता चिन्दैन नाता थर
ढोका झ्याल थुनेर बस्छ जहिल्यै ग्याजेटमै झुल्दछ
साथी हुन्न तथापि मेसिन भए संसार नै भुल्दछ ।

एकै हो घरको तला पनि उही जोडिन्छ कोठा पनि
यौटा छट्पट गर्छ रून्छ तर त्यो सोध्दैन के भो भनी
प्याट्टै मर्छ त्यहीँ मरेछ विचरा ! भन्दैन ऐले पनि
कुत्ता रून्छ बरु पुगेर नजिकै जाँदैन त्यो बैगुनी ।

एकै लिस्नु छ हिँड्छ, छुन्छ तनले बोल्दैन कस्तै गरे
आँखा तर्छ घुरेर हेर्छ रिसले सञ्चै छ नानी ? भने
मौका छोप्छ लुटेर भाग्छ बिचमा कोही परे मार्दछ
मान्छे काल बनेर डस्छ घरमै खै मृत्यु को चिन्दछ ?

बच्चाले अब के धडोस् मति नयाँ आफैँ भए जङ्गली
बन्छन् यन्त्रिक झन् कडा अकबरे भन्दा कडा जङ्गली
खान्छन् होटल बार क्याविन छिरी बल्दैन आफ्नो चुलो
तान्छन् माल चुरोटमा छ धतुरो लठ्ठिन्छ चाट्तै धुलो ।

खोप्छन् ट्याटु नितम्बका तल अझै पाइन्ट झुन्ड्याउँछन्
दारी केश विरुप फेसन धडी हाहाहिही गर्दछन्
आफ्ना भेष भुषा र संस्कृति कला आचार संस्कारको
रत्ती ज्ञान नभै फसी कुलतमा मर्छन् छ धिक्कार यो ।

यो दुश्चक्र समाजमा किन घुमी आयो कहाँबाट यो ?
मास्यो मौलिक चेत जे जति थियो कङ्काल भर्दै गयो
छैनन् नैतिक मूल्य मान ममता आचार क्यै आदर
मात्रै छन् अपराध दम्भ धनका उन्माद आडम्बर ।

किसान

उत्तम विचार

छन्द:पञ्चचामर
गण: ज र ज र ज गु
विश्राम:आठौँ अक्षरमा

उत्तम विचार

खनेर खेतका गरा अनाज छर्नु कर्म हो
किसान ठान्दछन् ठुलो सुकर्म गर्नु धर्म हो
लिएर काँधमा हलो जुवा भिरेर खेतमा
किसान धाउँछन् सदा अनन्त कर्म चेतमा ।

कुटो लिएर हातमा रहन्छ खन्न तत्पर
किसानको कसीविना हुने छ खेत बन्जर
मुठी छरेर उब्जने कला किसान जान्दछ
मिठो हुनेछ कर्मको कमाइ शुद्ध ठान्दछ ।

मिलेन मूल्य वस्तुको लिएर व्याजमा ऋण
पुगेन ध्यान खेतमा छ मौन राज्य यो किन ?
उडाउनै थियो भने सुनेर मात्र के व्यथा
किसान शान हुन् भनी बखान गर्दछौ वृथा ।

न मूल्य दुग्धको तिरे न सागपातको कुनै
रहेछ ठान्दछन् कतै किसान तुच्छ वर्ग मै
नदी पवित्र तालका भुल्यौ तिनै मुहान हुन्
बसेर भोकमा स्वयम् खुवाउने किसान हुन् ।

भनी बढार्न खोज्दछौ किसान हुन् कसिङ्गर
हुनेछ मूर्खता स्वयम् कुकर्मको नहोस् घर
ढलेर रात पूर्वमा हुने नयाँ बिहान हुन्
कसेर पेट पस्किने अनाज ती किसान हुन् ।

उराठिलो चैत

रमा खतिवडा

छन्द: वसन्ततिलका
गण:त भ ज गु गु
विश्राम:आठ अक्षरमा

रमा खतिवडा

आयो घुमेर जगमा अब चैत मास
झर्छन् सुकेर भुइँमा रुखबाट पात
सुक्छन् जलासयहरू बनिँदै उराठ
गर्ने विनाश जगमा छ हुरी बतास ।

बढ्दो छ ताप रविको बहुतै प्रचण्ड
देखिन्न शैल सुकिलो किन लाग्छ रुग्ण
थुम्का पहाड हरिया वन छन् उजाड
सौन्दर्य यो प्रकृतिको छ हुँदै सखाप ।

कालो भयो गगन त्यो छ धुलो र मैलो
सुख्खा छ मृत्ति भवको वनमा डडेलो
छैनन् सुरम्य झरना नद छन् सुकेका
बुट्यान घाँस लहरा सब वैलिएका ।

आँधी चलेर घरको लगिदिन्छ छानो
बेहाल पार्छ कतिको खोसिदिन्छ मानो
यो चैतमा प्रकृति नै किन रुष्ट बन्छिन्
आफैँ रचेर रचना किन नष्ट गर्छिन् ।

प्राणी परे सकसमा नभएर पानी
सल्केर जङ्गल बने छिनमै खरानी
पञ्छी हराउन पुगे नमिलेर बास
हेर्दै भयो बिरसिलो किन चैत मास ।

बारा निजगढ
हाल: पोखरा

आयो फिरङ्गी

अर्जुन शर

छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

अर्जुन शर

चुलो नबल्ने दिन आउँनेछन्
कुलो नचल्ने दिन आउनेछन्
गह्रा नफल्ने दिन आउनेछन्
अकाल मर्ने दिन आउनेछन् ।

वैशाख फुल्ने वन मासिनेछन्
मेरो सिमाना सब नासिनेछन्
हुनेछ हत्या सब निर्मलाको
सामन्त नाच्ने अब पुग्छ धोको ।

नेपाल मेरो लुटियो लुटाए
अखण्ड मेरो धरती फुटाए
सन्तान निस्के इतिहास मेट्ने
आयो फिरङ्गी अब स्वाद भेट्ने ।

नेतृत्व गर्ने कति काइते छन्
ती सर्वहारा जति घाइते छन्
यो देश मेरो अब हुन्न मेरो
आयो फिरङ्गी सब मार्छ फेरो ।

बाटो र बत्ती म बनाउने हो
फिरङ्गलाई किन ल्याउने हो
वीराङ्गनाको दुधको खिसी भो
पस्यो फिरङ्गी निहुँमा सिसीको ।

सिसी भयो रे पहरा फुटाल्ने
छन् है सिसीका मतियार पाल्ने
म राम बोल्दा निरपेक्ष गर्ने
आयो फिरङ्गी कुन राम हेर्ने ।

नेताहरूको मनको पुर्‍यायो
विकास भन्दै जन चौखुर्‍यायो
विकास गर्ने निहुँ मात्र हो यो
पस्यो फिरङ्गी तब देश रोयो ।

एक्लोपन

सरू बस्नेत

छन्द: विधाता
गण: य र त म य गु

सरू बस्नेत

सजाई निस्किएँ स्वप्‍ना बुबाआमा सबै छाेडी
जिऊँ आफू भनी छाता बनाई दु:खले आ‍ेडी
सधैँ यी आ‍ेठमा हाँसाे खुसी ल्याऊँ गरी काम
भनी आएँ विदेशीको धरामा बिर्सिँदेेेै मान ।

पिता पुत्री भनी रुन्छिन् उमा आफैँ बिरामी छिन्
न पाएँ गर्न मैँ सेवा बुझाऊँ चित्त ज्ञानी छिन्
पिऊँ के दु:खकाे पानी बिना तीर्खा सुक्याे आ‍ेठ
सतायाे सम्झनाले झन् पुरानो गाउँको गाेठ ।

भनूँ खै आज गाेर्खाली निकाली धार बाटाेकाे
त्यहीँ जन्मेर हुर्केकी म माया गर्छु माटाेकाे
बुबाआमा रुँदै सम्झी बन्याे झन् पाेखरी ताल
गरी के चित्त सम्हालूँ पुरी धब्बाहरू हाल ।

न भाेक प्यासकाे चिन्ता न शाेक श्‍वासकाे माया
व्यथा पीडा बढी लाखौँ भयो झन् स्वप्‍नकाे छायाँ
सिरानी आँसुले भिज्दा सहारा काे दिने हुन्छ
हुहू चित्कार झन् मेरो बिना स्वार्थ कहाँ सुन्छ ।

मरूँ बाँचूँ सधैँ जल्दै परेँ दाेधारमा आज
मरे व्यर्थै हुने नै हाे जिऊँ नेपालमा लाज
स्वदेशी भूमिकाे माया यहाँ पाऊँ गरी के म
सधैँ एक्लाेपना पाएँ जुनी बेकार देखेँ म ।

निजगढ, बारा

मेरो राजघाट

नवीन मैनाली

छन्द: मालिनी
गण: न न म य य
विश्राम: आठ र पन्ध्र अक्षरमा

नवीन मैनाली

सिरसिरसिर हावा चल्न लाग्यो बतास
हरिण मजुर साथी खेल्दछन् आसपास
जगतभरि खुसीको लाग्छ मेला विराट
नयनभरि रमाओस् नित्य यो राजघाट ।

मनुज ऋषि सरि भै गर्दछन् नित्य भक्ति
जप-तप सकिएमा पाउनेछन् कि मुक्ति
जब चिरबिर गर्दै बोल्न थाले चराले
तब नव करुणामै हेर्छ मेरो धराले ।

टहटह जुन लाग्दा मौनतामा रहेर
सकल पशुहरूको कष्टलाई सहेर
हृदय सब नियाल्ने गर्न खोज्दैछु आँट
सुमधुर रस बग्ने ठाउँ हो राजघाट ।

हल-चल नगरी क्यै योगमा चित्त लाऊ
नवयुवकहरू हो ! राष्ट्रका निम्ति धाऊ
प्रतिपल अब आऊ खेतमा प्रेम साट
अब त जगत बिर्सी बस्छ यो राजघाट ।

नवरस भरिएको रत्नको पुञ्ज पुञ्ज
फगत-जगत रित्तो मौनताको छ कुञ्ज
अब सब पिर जाऊन् दुःख जाओस् मबाट
जय जय जय मेरो ढुक्ढुकी राजघाट ।

राजघाट -९, सर्लाही

अन्तिम रात

अभिषेक ओझा

छन्द:शार्दूलविक्रीडित
गण: म स ज स त त गु
विश्राम:छ र बाह्र अक्षरमा

अभिषेक ओझा

राती चामल खोज्नुपर्छ दिउँसो खाना नपुग्ने भए
छाडी देश विदेश जान्छु नभए सन्तान मर्ने भए
बिन्ती रोक्नु नभन्नु है प्रियतमा ! यो देशमा के छ र ?
तिम्रो सिन्दुरको कमाइ नपुगी फर्किन्न प्यारी! घर।

बारीमा ऋण फल्छ ब्याज करमा तिर्दा सकेँ राज्यमा
खेती गर्न सकिन्न बस्नु किन के ? तड्पेर यो राष्ट्रमा
सावाँ तिर्नुछ साहुको र घरको पूर्जा नि फर्काउँछु
बाबा! भोलि विदेश जान्छु रुपियाँ धेरै लिई आउँछु।

आँखा चिम्लिन बिर्सियो मुटु व्यथा किड्नी दुवै बिग्रियो
हामी मन्दिरबाट फर्किरहँदा खै रोग के सप्रियो ?
छोरीको उपचार गर्दछु भनी बोकेर यी तस्बिर
भन्दा हुन् कसरी कठोर दिलले जाँदैछु खाडीतिर।

खानामा घिउ राख पस्क र छिटो ती हातले ख्वाउनू
आमा भन्छु म स्वप्नमा हृदयमा छोरा भनी आउनू
तातो घाम पिएर के अरबमा छोरो उतै मर्छ र ?
मेरो मृत्यु अगाडि आउँछु चुरा बोकेर आमा घर।

छोराले स्कुलमा गएर कखरा पढ्ला र होला खुशी
छोरीको उपचार हस्पिटलमा गर्दा हुनेछिन् सुखी
जस्ता फेर्छु ढलान गर्छु घरमा पैसा कमाए पछि
फेरौँला अनि श्वास प्राण सुखको फर्केर आएपछि।

निजगढ -बारा

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू

१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर:प्रभा पोखरेल “फूल”

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail