आँखाले पनि तिरमिर
तिरमिर झिल्का
देख्न थालेको वर्षौं भयो
मन आत्तिरहन्छ
स्थित छैन
बेलाबेला झसङ्ग झसङ्ग
झस्किरहन्छु!

मेरो गल्ती थियो या उस्को ?
आफैँले आफैँलाई प्रश्न गरिरहन्छु
उत्तरकै आसमा छट्पटिँदा
छट्पटिदै दिन बित्छ, रात बित्छ
आफ्नै प्रश्नको आफैँले
उत्तर दिन सकेको छैन
म गलत थिएँ या ऊ गलत थियो
केही ठम्याउन सकेको छैन्

आँतभेउ पाउन सकस छु
अतिशय, मनमा दाग बसेको छ
नीलकण्ठमा उस्को ओठका डाम
पुरै शरीरलाई स्पर्श गर्दै
छाती सुमसुम्याएको
सम्झिदा अझै पनि शरीर काम्न थाल्छ
भक्कानो छोडेर रुन मन लाग्छ

हे भगवान्, मलाई कति
विवश बनाइदिएका थियौ
उस्को प्रस्ताव स्वीकार गर्न
मेरो मनले किन मानेको थियो होला ?
जबकि एक अविवाहित छोरी थिएँ म
किन सम्झिन गाउँ समाज
इस्ट्मित्र, आफन्तजनले
केही चाल पाए के होला भनेर?!

जागीरको लोभ, पैसाको लोभले
किन घर, बा, आमा छोडे हुँला?
मलाई भविष्य बनाइदिनेछु
भनेर लगेको मान्छेले
यौन सम्पर्कको प्रस्ताव राख्दा
मैले किन सोचिनँ होला?
मेरो भविष्य अन्धकार पनि हुन सक्छ भनेर

म कस्ती अभागी छोरी रहेछु
आफ्ना मान्छेबाटै पटक पटक
बलात्कृत भएँ
कसलाई सुनाउने पीडा ?
कसलाई भन्ने मनका व्यथा ?
चुप लाग्नबाहेक केही विकल्प नरहेपछि
आफैँले आफैँलाई
छोरी तिमी किन जन्मियौ भनेर
जिउन थाले सिरानी भिजाउँदै
आँसुका ढिक्काहरूले !

साबुन पानीले लुगाको
मैलो पखालेझैँ
कालोपाटीमा सेतो चकले
लेखेका अक्षरहरूलाई
डस्टरले सजिलै मेटाएझैं
मेटेर मेटिने, धोएर धोइने रहेन छ
बलात्कारको दाग !

सुदुरपश्चिम, बैतडी