ब्रह्माण्डमा जित मात्र कहाँ छ र
यहाँ त पलपलमा हार भइरहेछ
धर्तीमा जब च्याँ आवाज झर्दछ
उस्को जितको भाका होइन
त्यो त उसको हारको भाका हुन्छ
त्यो जतिसुकै मधुर स्वर भए पनि
त्यो पनि त उस्कै हार हो
किनभने ऊ कसैको जितमा हार भई दिएको हुन्छ
उसले हार स्वीकार्नुबाहेक
जिन्दगीमा अरु के पो हुन्छ र उसलाई
त्यसैले मज्जाले हार स्वीकारी दिन्छ
कसैको खुसीका लागि
कसैको जितका लागि
कसैको आनन्दका लागि
हो,
त्यसैले मन पराइदिन्छ हारलाई
जिन्दगी भर हारैहार बटुल्छ
जीवनको आदिदेखि अन्त्यसम्म
हारमा नै डुबुल्की मारेको हुन्छ ऊ
हारमा नै हुर्किएको हुन्छ ऊ
मृत्यु त त्यसै हार हो उसको
यो शाश्वत सत्य पनि हो
हार्नैको लागि च्याँ च्याँ गरेको हुन्छ
हार्नैको लागि पाइला चलाइरहेको हुन्छ
हार्नैको लागि बाँचिदिएको हुन्छ
यसरी जीवनभर हारिदिन्छ उसले
अरुकै लागि
यद्यपि हारदेखि अति खुसी हुन्छ ऊ
किनकि हारैहारको बन्धनमा घेरिएको छ ऊ
सधैभरी अरुकै लागि हारिदिन्छ
अरुकै लागि आफै ठगिदिन्छ
अरुलाई जिताउनका लागि
हारेकै हुन्छ उसले
हारको अनुभव छरपस्ट छन् ऊसँग
त्यसैले जिन्दगीभर यसैमा खेल्छ रमाउँछ
अहा ! कति प्रिय छ उसलाई जितेको हार ।