सुत्ने समयमा
यादहरू जागेर आउँछन्
यादहरु उठेर आउँछन्
तँ छाड, म छाड गर्दै
सबै एकैचोटी आउँछन्
ती यादहरू आउँदा
यो देशमा
कुनै अमन चैनको याद आएन
कुनै सुख र शान्तिको याद आएन
कही पनि भाइचारा को याद आएन
अलिकति सुरक्षित छु कि त्यस्तो पनि याद आएन
त्यस्तो यादहरूको पर्खाइमा
कति रातहरू रुँगेँ
कति रातहरू चुमेँ
तर प्रत्येक पटक
विषालु सर्पहरू भएर
मलाई ठुँगे
मलाई चुसे
खोई को नीलकण्ठ भएर आए ?
मात्रै मृत्युघण्ट भएर आए !
यसरी यादहरू आउँदा
रोग भएर आए
शोक भएर आए
मृत्यु भएर आए
जति जति पटक आए
त्यति त्यति पटक
मैले मन्थन गरेँ
अमृत निस्किएन मात्रै हलाहल विष निस्कियो
अहिलेसम्म मैले विष सेवन गरेँ
मन्द मन्द विष
र यसरी
सुत्ने समयमा
यादहरू जागेर
यादहरू उठेर आउँदा
मन्द मन्द विष सेवन गर्दै छु
र यसरी क्रमशः
नजिक नजिक मृत्यु आएजस्तो लाग्छ
यसरी यादहरू जागेर आउँदा
विषालु सर्पहरू भएर
ठुँगेको याद आउँछ
चुसेको याद आउँछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।