उफ ! यो टाउको
टाउकोको
दुखाइ पनि कति पीडादायी
मन्द टन्किने
भनन रन्थनिने
कट्कट् खाने
घरी एकापट्टि घरी अर्कोपट्टि
घरी अगाडि घरी पछाडि
कन्पारो तात्ने
फुट्लाजस्तो
हरे !
किन दुख्छ
यो बेकामे टाउको ?
नेपथ्यबाट कसैले भन्छ-
रित्तो टाउको दुख्छ
पीर
अनिद्रा
पिनास
डिप्रेसन
ट्युमर
माइग्रेन
तनाव
ज्वरो
उच्च रक्तचाप
ग्याष्ट्रिक
मेनिन्जाइटिस
वा इन्सेफ्लाइटिसले दुख्छ टाउको
अपसोच त्यो सबै छैन
तर किन टनटन दुखिरहन्छ टाउको ?
उफ !
यो बेकारे टाउको
बिहान दुख्छ, बेलुका दुख्छ
जति जति साँझ पर्दै जान्छ रन्किँदै जान्छ
कम दुख्ने टाउको बढी बढी दुख्छ
यो टाउको फुटाएर अर्को फेर्न पाए नि हुने
साट्ने मन भएका कोही भए साट्न पाए नि हुने
रित्तो भए गिदी भर्न पाए नि हुने
गिदी समवेदना शून्य हुन्छ
र नदुख्ने पो हो कि !
नेपथ्यबाट पुनः कोही चिच्याउँछ
बुद्ध
गान्धी
लेनिन
देवकोटा
नगरकोटी
या तपाईं
कस्को हो यति पिडादायी टाउको ?
कृपया
विश्राम लिनुस्
कति टाउको दुखाउनु हुन्छ
देश सिध्याउनेहरूसँग पौंठेजोरी नखोज्नुस्
आफैंले हत्या गरेका
सपनाका झोक्काहरुले
विश्वासका मृत्युहरुले
आफैंले विजारोपण गरेका
मुर्कुटाका मन्त्रहरुले
जुम्राका आतङ्कहरुले दुख्छ टाउको
त्यसैले कृपया
टाउको बचाऔं
ए सपनाहरू
आतंकको करौंतीमा रेट्न छाड
ए मृत्युहरू
विश्वासको धारमा बलि नदेऊ
ए मुर्कुटाहरू
कुशासनको रवैया नदेखाऊ
ए जुम्राहरू
अब त टाउको चुस्न बन्द गर
बरु
टाउको कोमामा होस्
चीर निद्रामा सुतोस्
र सारा दुखाइहरू बन्द होऊन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।