चकमकेमा तास खेल्नेलाई भाटे कारबाही गरियो रे
चारै जनालाई एकएक हात तास खुवाइयो रे
कान समातेर सयपल्ट उठबस गराइयो रे
आइन्दा तास नखेल्ने कसम खुवाइयो रे
सिर्कनाले सोठ्‌याउँदै धर्धरी रुवाइयो रे
छरछरेमा जुवा खेल्नेहरु लाठ्ठे कारबाहीमा परे रे
आइन्दा जुवा नछुने प्रण गरे रे
श्रीमतीका अगाडि उठबस गर्दा
लाजले भुतुक्कै मरे रे
लङ्गुर खोलामा बुहारी सताउने सासूको मुख सिइयो रे
भौतिक कारबाही गरियो रे
घुँडो मर्काइयो रे
साफ थर्काइयो रे
छोरालाई अंश नदिने गडाम्रे कान्छोको ढाड सोझ्याए रे
तिलङ्‌गेको डढेलो ओझ्याए रे
बेलबारीमा रक्सी पिएर बबाल गर्ने
जँड्‌याहालाई आफ्नै पिसाब पियाइयो रे
भुकुनेमा धान काटेर सघाए रे
कदमेमा मकै भाँचेर अघाए रे
कोटगाउँमा कोदो रोपिदिए रे
गोगनेमा गोरु जोतिदिए रे
नपढाई आधा दिनमै घर फर्किएको शिक्षकको पिँडुलाको मासु झारे रे
गा. पा. मा हाजिर गरेर फरार हुने कर्मचारीको कार्यालयमा ताल्चा मारे रे
शक्तिखोरमा शक्ति प्रदर्शन गरे रे
भक्तिखोरमा भक्ति दर्शन गरे रे
भिमानको अभिमान उडाए रे
अरुका भनेर आफ्नै जवान लडाए रे
रुद्र बाटिकामा रुद्रको सालिक ठड्याए रे
भाटे कारबाही गरियो रे
तास खुवाइयो रे
कान समातेर उठबस गराइयो रे
कसम खुवाइयो रे
सिस्नोपानी लगाइयो रे
झगडा मिलाइयो रे
कतिलाई सुन्दा आनन्द लाग्थ्यो
कतिको सातोपुत्लो भाग्थ्यो
आजकाल त तिनै सिस्नु लाउनेहरू तास खुवाउनेहरू
भाटे कारबाही गर्नेहरू
धान काट्न सघाउनेहरू
जोत्न – खन्न सघाउनेहरू
दाइँ गर्न सघाउनेहरू
बोक्सी आरोप लगाउनेहरुलाई जरिवाना गर्नेहरू
दण्डितहरूसँग मिलेर
काँधमा काँध मिलाएर
“ती सबै भागबन्डामा व्यस्त छन् रे अचेल
ती सबै सुरा सुन्दरीमा मस्त छन् रे अचेल
‘भ्रष्टाचार’ त कमाउने शास्त्र र शस्त्र हो रे तिनको
त्यस्ता नौजवानहरू गाउँमा प्रशस्त छन् रे अचेल !”

हात्ती छाप चढेर सहर पसेका
पछि आलिसान महलमा बसेका
पेसा हेर्दा सुकुम्बासी देखिने
तर चाला हुकुमबासी देखिने
अरबपति सर्वहारा नेताहरुको
दिनचर्या यस्तै छ रे
जाँडको खेती
जुवातासको मेलापर्म
लडाइँ – झगडाको बालीनाली
व्यभिचारको व्यवसाय र
रतिरागको मनसाय
मनग्ये सप्रेको छ रे
गाउँघरबाट यस्तैयस्तै खबर आउँछन् आजकाल
सहरतिर
सदरमुकामतिर
राजधानीतिरबाट पनि यस्तैयस्तै खबर आउँछन् अचेल…. यतातिर …!!

सिन्धुली
हाल: हेटौंडा