कपिल किशोर घिमिरे

सुदूरपश्चिम प्रदेश संयोजक– कपिलकिशोर घिमिरे

फर्केर आऊ घर

नवराज भट्ट

छन्द: शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

नवराज भट्ट

नवराज भट्ट

साह्रै कष्ट भएछ गाउँ घरमा राेएर बस्छन् सबै
आमाबाबु सबै यहाँ दुखित छन् बाटाे कुरेका अझै
बाँझाे खेत भई न अन्न छ यहाँ देखिन्न बाँच्ने भर
यस्ताे हालत देखिएछ सबकाे फर्केर आऊ घर।

देखिन्छन् सब वृक्षपत्र हरिया बस्छन् अनेकौं चरा
चर्दैछन् मृग ती पसेर वनमा आनन्द मान्दै धरा
यस्ताे सुन्दर देशमा मन बसे काे जान्छ छाेड्दै पर
थाेरै नै धन पाउँला बरु यहाँ फर्केर आऊ घर।

शिक्षामा धन बग्छ हेर सबकाे सन्तानका खातिर
साह्रै कष्ट सहन्छ खास जनले झुक्दैन ठाडो शिर
देख्छन् हेर भविष्य बन्न भरिया काे गर्छ धेरै कर
यस्ताे दास बनेर हुन्न मनुवा फर्केर आऊ घर।

साह्रै दु:ख म देख्छु आज धरमा देखिन्न राम्राे कतै
काेही युद्ध गरेर भाँसिन गए मान्छे मरेका त्यसै
यस्ताे शान्त मिजाजकाे मुलुक झैँ पाइन्न खोज्दा पर
आफै बुझ्नु पर्‍यो कुरा सहजमा फर्केर आऊ घर।

काेही छैन यहाँ कुबेर धनका गर्छन् गुजारा सबै
आफ्नै काम गरेर जीवन बन्याे लाेभी भएका कमै
यस्ताे चाल बुझेर मानिस सबै छाेड्दै गएका धर
आफ्नै खेत खनेर मिल्छ ढुकुटी फर्केर आऊ घर।

कञ्चनपुर

आमा

चन्द्र बोहरा

छन्द शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

चन्द्र बोहरा

देवी हुन् सबमा छ प्रेम ममता आमा सधैँ हुन् घर
आमा जीवनकी जया भुवनकी आमा सधैँ सुन्दर
आमाको अति प्रेम सागर बनी हो छालमा छल्किने
आमाको ममता सदा हृदयमा संसारमा झल्किने।

आमा छन् जबसम्म साथ घरमा चाहिन्न कोही पनि
आमा छैन सदैव यो घर सबै साह्रै सुनो आँगनी
आमा शब्द समान शब्द रसिलो भेटिन्न संसारमा
आमाको करुणा र आसिक सधैँ राखौँ शिरैमा सदा।


बाल्दै जानुछ ज्योति झल्ल घरमा साह्रै उज्यालो बनी
आमा चन्द्रमुखी र शान्त जननी हुन् जन्मदाता पनि
आमाकासरि प्रेम यो भुवनमा गर्ला र को आखिर
आमाको अति उच्च भाव मनले गर्छौं सदा आदर।

आमाको ममता छ प्रेम दिलमा आमा मनैकी धनी
मानौ चन्द्र समान दिव्य भवमा दिन्छिन् सधैँ रोसनी
बाबा भास्कर तुल्य तेज सबमा हाम्रा उनै ईश्वर
आमाको ममता विशाल भवमा झर्ने बनी निर्झर।

लेख्छन् जो कविले कथेर कविता सुन्दैन कोही पनि
आमा वृद्ध भईन् भनेर घरमा बस्दैन कोही पनि
रुन्छन् वृद्ध पिता बसेर घरमा सोध्दैन कस्तो मन
छोडी पुत्र गए विदेश सब नै डुब्दै छ है जीवन।

कैलाली

 

बनौं आशावादी

कृष्णदत्त जोशी

छन्द:मन्दाक्रान्ता
गण:: म भ न त त गु गु
विश्राम: चौथो र दसौँमा

कृष्णदत्त जोशी

बस्तीमा छन् घर खजुर झैँ अग्लिदै माथि माथि
सामुन्ने छन् तन मन भने दूर छन् हेर साथी
मर्दापर्दा सुख र दुखमा छैन जन्ती मलामी
के भो यस्तो निरस दुनियाँ सभ्यता छन् बिरामी ।

यो यात्राको सब सुख बुझौँ अन्त हो घाटसम्म
के ल्याए थे कति छ जगमा लाग्नु बोकेर टम्म
ढुङ्गा जस्तो निठुर दिलको चेत भै चेत हीन
ए मान्छे हो निरस नबनौँ यन्त्र आत्मा विहीन ।।

वासन्तीका नवरस मिली हाँस्छ यो जिन्दगानी
माया पाए प्रकृतितलमा फुल्छ मीठो जवानी
चोखो पाई मृदुल ममता काख मातापिताको
बच्चा हाँस्छ्न् सरगम जसो बाल हाँसो मजाको ।

मायामा नै मगमग भई सृष्टिका फूल फुल्छन्
मायाले नै अखिल जगमा बन्धुका भाव खुल्छन्
यस्तो माया मनुज सबले हेर साथी नत्यागौँ
हत्या हिंसा छलकपटका भाव हामी नराखौँ ।

खोज्दै जादा सुख जति सबै पीर पाएर सारा
देखेनौँ के अतिचकिलो देख्न माया सहारा
मान्छे हुन्छन् दिलभरि भए भाव चोखो दयाको
ए मान्छे हो सुखसित सिकौँ ज्ञान बाँच्ने कलाको ।

कञ्चनपुर

पर -जा -तन्त्र !

छबिलाल आचार्य

छन्द:अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

छविलाल आचार्य

वर्ग सङ्घर्षको बाटो घातमा अल्झियो हरे !
राष्ट्र बचाउने नारा कुर्सीमा बल्झियो अरे
हाना हान भयो कुर्सी सिङ्हको दरबारमा
हाम्रो तन्त्र रमेको छ नेताको घरबारमा ।

लोगो भित्र छ यो देश डोको भित्र नदी जल
स्वाभिमानी भयौँ हामी ? नगरौँ अब खल्बल
फसेको छ प्रजातन्त्र बिदेशी जाल झेलमा
बसेको छ प्रजातन्त्र कुर्सीको खेल खेलमा ।

युवाको जोसमा लुक्छ तान्छ लान्छ बिदेशमा
प्रजातन्त्र रमेको छ नेताको झेलखेलमा
शक्तिमा छ प्रजातन्त्र भक्त भै बाँच्नुपर्दछ
बम्बैका घरमा हेर नग्न भै नाच्नुपर्दछ ।

अत्याचार बलात्कार तन्त्रको मन्त्रनै भयो
कमिसन् तन्त्रको पेवा प्रजातन्त्र रहिरह्यो
तस्करी माफिया तन्त्र प्रजातन्त्र उदार भो
गणतन्त्र प्रजातन्त्र दुष्टकै अनुहार भो ।

बिदेशी मार्ग बन्दैछन सीमा स्तम्भ ढलाउँदै
स्वाभिमानी बनेका छौं नेपाली कहलाउँदै
लुत्ते कुक्कुरझैँ फूर्को हल्लाइ स्वामिभक्तझैँ
कलोका भरमा देश अडेकोछ असक्त झैँ ।

न्यायकर्ता भए अन्धा लङ्गडो अख्तियार भो
जो जस्ले मन्त्रणा गर्छन् तिनैको शब्द प्यार भो
पर -जा तन्त्र भन्दैछन् जो जस्लाई चुने भयो
बिरालो दुधको साँची राखे जस्तै हुने भयो ।

सुनमा नुनमा सारा शक्तिको अनुहार छ
जो आफ्नै श्रममा रम्छ उसैको नित्य हार छ
चाहे भ्रष्ट भनून् या त चाहे गुण्डा भनून् कतै
पर – जा – तन्त्रमा ऐले पैसा बोल्छ जताततै ।

एक तन्त्री तिनै देख्छु गणतन्त्रीहरू तिनै
सर्पको काँचुली जस्तै कत्ला फेर्छन ती दिन्दिनै
पर-जा- तन्त्रमा रम्दै लामो ताँती बनाउँदै
हाम्रो दिवस यो हुर्क्यो भित्री आँत गनाउँदै ।

प्रेम पूजा

कपिल किशोर घिमिरे

छन्द:भुजङ्गप्रयात
गण: य य य य
विश्राम: छैठौँ अक्षरमा

कपिल किशोर घिमिरे

म प्रेमी हुँ तिम्रो म तिम्रै हुनेछु
हुनेछैन टाढा म साथै हुनेछु
सकेसम्म माया असाध्यै दिनेछु
परे दु:ख भारी म आफैं लिनेछु।

बनाएर रानी सधैँ राख्छु प्यारी
दिनेछैन पीडा र चिन्ता पियारी
तिमी प्यार मेरो म प्यारो छु तिम्रो
सधैँ प्रेम फुल्दैछ आहा ! सुनौलो ।

दियौ साथ छोडेर बाबा र आमा
दिनेछैन पीडा छु राख्ने खुसीमा
छ मेरो प्रतिज्ञा म तोड्दैन प्यारी
बसाल्दै दिलैमा सदाझैँ म प्यारी।

लिएँ हात मैले नछोडेर राख्छु
समाएर प्यारी रमाएर राख्छु
नलेऊ कुनै ताप चिन्ता मनैमा
र राख्दैछु मैले म आफ्नो दिलैमा।

तिमी पीर मान्दा फकाएर राख्छु
खुसी पार्छु मैले हँसाएर राख्छु
म हार्नेछु सारा तिमी जित्न सक्नू
कुबाटो म लागे सुधारेर राख्नू।

सबैले भनून् प्रेम राम्रो यिनैको
असाध्यै मिलेको छ जोडी यिनैको
न गर्छन् लडाइँ सधैँ छन् मिलेका
सबै काम मिल्दै दुबैले गरेका।

सुनायो नराम्रा कसैले कुरा नै
चनाखो बनेरै नबोल्ने बने है
लगाएर आगो टुकार्नेहरू छन्
बिगारेर सम्बन्ध पीडा दिने छन्।

सकेमा सबैको भलो गर्नुपर्छ
बिगार्नेहरूको कुरै सुन्नुहुन्न
अरूको नराम्रो गरे सड्नुपर्छ
सकेसम्म राम्रो सधैँ गर्नुपर्छ।

प्रकृति र मनुष्य

सगुन सापकोटा

छन्द:झ्याउरे
गण:३+२+३+२+३+३=१६ अक्षर
विश्राम :पाचौँ र दसौँ अक्षरमा

सगुन सापकोटा

माटो र पानी हो जिन्दगानी पवन प्राण हो
बिरुवा बोट अन्न र बाली ज्याँनको त्राण हो
हिमाल चिसो शीतको केन्द्र सबैको साझा हो
जिवात्मा सारा धर्तीमा बस्ने आफैमा राजा हो।

जन्तुमा टाठो सबैमा बाठो मान्छे छ जगमा
उठाइ लौरो रजाइँ गर्छ मान्छेले सबमा
मासेर वन बनाइ धन मालिक बन्दछ
संसार सारा हो राज्य मेरो म राजा भन्दछ।

स्वार्थको भारी बोकेर हिड्छ इमान त्याग्दछ
नैतिक शिक्षा सेवा र धर्म नालीमा फ्याँक्दछ
आपसी द्वेष सिर्जना गर्छ लोभमा फसेर
अर्काको हित कोलमा पेल्छ हत्कडी कसेर।

बारुद गोला बनाइ आफू सर्वोच्च ठान्दछ
निरीह माथी शक्तिको बज्र ताकेर हान्दछ
मै खाउ भन्ने कु भाव बड्दा शान्तिको बेहाल
आपसी मेल बढाए शान्ति हुनेछ बहाल।

प्रकृति प्रेम दया र धर्म सम्मान सबैको
समस्त प्राणी समान भन्ने सोच होस् सबैको
त्यागेर खड्ग विद्याको ज्योति फैलाइ गाउँमा
सद्भाव छरौं शान्तिको लागि धराको नाउँमा ।

ओजस्वी

अनुप राज उप्रेती

छन्द:शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

अनुपराज उप्रेती

आभा लुक्छ लुकाउछन् सब मिली ओझेल ओझेलमा
पूर्खाका सब सभ्यता बिगतका दुर्भासका भेलमा
सूर्जे लुप्त भयो सदा सगरमा सन्त्रास यो फैलियो
माटोको प्रतिमूर्ति बन्न नसकी आकाश नै मैलियो ।

रोई बस्दछ अस्मिता मुलुकको बिर्सी यशस्वी सब
पासो निर्मम बेर्दछन् दलिनमा स्वाधीनताले अब
ए! आमा किन पग्लदैन कहिल्यै सन्तानका यी मन
रोएको छ परन्तु ती दशगजा पाषाणका लोचन ।

त्याग्याैँ गौरव पूर्व सौरभ सबै स्वर्णीमको प्रातमा
मिथ्या सार रसाउने समयको दुर्भाग्यको रातमा ।
हाम्रा चन्द्र र सूर्य छन् सगरमा स्वाधीनताका रथी
ब्वासाको कर काट्न उर्ल रणमा ए देशका सारथि ।

श्रद्धाको शवमा कठै हृदय यो आफैँ मलामी गयो
नेपाली मन पश्चिमी सलहको आक्रान्त जस्तै भयो
ए! आकाश सजाइदे रहरका सारा दिलाशाहरू
भत्केका सपना हजार मनका आशा निराशाहरू।

ए! हावा अब ल्याइदे सफरमा आभास सानन्दको
नाका बन्द गराइदे हृदयका दुर्भाव औँ स्वार्थको ।
सूर्जे अंशु फिजाइदे मुलुकमा कालो छ चारैतिर
ए! चैतन्य बनाइदे अब यहाँ स्वर्णाभ सागर ।

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू
१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail.com