१. बुढी औँला १

ढुकढुकी बाँकी छँदै
मिल्कायो आमालाई चिहानमा /ब्रह्मनाल
छोरा घर फर्कियो र
उसले महँगो भोजनालयमा भोज दियो

पछि कसैले सुनाइदियो
कुनै महँगो शहरको महँगो ठाउँमा
आमाको नाममा भएको
छ आना, चारदाम जग्गाको बारेमा –

ऊ रूदै कराउँदै
पुग्यो नदी किनार –

सबैले सोचे‑ आमाको माया हो

ब्रह्मनालमा छट्पटाइरहेकी
आमाको हातको बुढीऔँला काट्यो र फर्कियो
केवल उसलाई यहीँ बुढी औँलाको
एकछाप खाँचो थियो !

*********

२. बुढी औँला २


एक्लै छु
सृष्टिको सुरुदेखि नै
तिमीहरूको पो एकता छ
जन्मौँजन्मदेखि, चारऔँला-

एकता पनि मेरै अङ्गालोले
कायम राखेको हो!

तिमीहरूको एकता कायम राख्न
तिमीहरूको एकता भत्काउन
म नै काफी छु
केवल मेरो यहीँ बुढी औँलाको
एक छाप काफी छ!

*******

३. चोर औँला

अरुले खुब घृणा गर्छन् –
म खुब मन पराउँछु
खुब प्रेम गर्छु
चोरऔँलालाई

यसर्थ
मैले सुरुमा यही
औँला समातेर उभिन सिकेको हुँ-
मैले समाएको पहिलो औँला
मेरी आमाको थियो

******

४. रङ

रङमा रङ मिसिए
रङले रङ बदल्छ
र, फरक जात जनाउँछ
आफूलाई…

भन्ठान्छ आफूलाई मसिहा
बाँच्न खोज्छ आफ्नो स्वभावमा
गर्न खोज्छ परिवर्तन आफूलाई…

अनि आफैँले आफ्नो अस्तित्व मेट्छ

सेतो रङमा
कुनै फरक रङको टीका मात्र लागेमा
सेतोलाई बिटुलो बनाउँछ

यसर्थ
मलाई कालो हुनुमा गौरव छ
कालोमा जुन रङ मिसाए पनि
ऊ परिवर्तन हुँदैन ।

*********

५. युद्धको सौन्दर्य

कसले भन्ने हिम्मत गर्छ
युद्धको सौन्दर्य हुदैन

युद्धमा बगेको रगत
मुस्कान खोसिएको अनाथ अनुहार र,
चैतेवनमा पनि वसन्त फुलेको देखिन्छ
कहिले ती वक्ताले –
हरियो चश्मा लगाएर हेरेका छन् ?

*********

६. चोर औँला २

तिमीले अरुलाई
औँला उठाउनुअघि-
जति अरुलाई
जे जे भनेर तिमी खराब भन्छौ
तिमी आफूलाई ती ती कुरामा
तीन गुना खराब बताइरहेका हुन्छौ

विचार गरेका छौ कहिले ?

*******

७. रङ

ऊ हाम्रो मान्छे थियो
हाम्रो रङको समाजसेवी

एक दिन निवेदन गर्यो
कुर्सीमा बस्न पाउँ भनेर
बहुमतले पारित गरिदियौँ उसको इच्छा

कुर्सीमा पुगेपछि
ऊ बदलियो छेपारोमा
कुर्सीकै रङमा बदल्यो आफूलाई

अचेल ऊ देखिँदैन
कुर्ची मात्र देखिन्छ ।

********

बागमती नगरपालिका
कर्मैया, सर्लाही