धर्मशास्त्र भन्छ–
‘पाप गर्नेले पापको फल भोग्नै पर्छ’

जब चुनाब आउँछ

हाम्रो घर आँगनमा
हत्याराका नाइके आउँछ
र भन्छ–
‘आमा ! म तपाईंकै छोरा
मलाई भोट दिनुहोस्
म यो देशलाई शान्ति दिन्छु’

फटाहाका नाइके आउँछ
र भन्छ–
‘बुबा ! म तपाईंकै छोरा
मलाई भोट दिनुहोस्
म यो देशलाई स्वर्ग बनाउँछु’

गुन्डानाइके आउँछ
र भन्छ –
‘दाजु ! म तपाईंकै भाइ
मलाई भोट दिनुहोस्
म यो देशलाई अमन चयन दिन्छु’

कालो सूचीका ठेकेदार आउँछ
र भन्छ–
‘भाइ ! म तपाईंकै दाइ
मलाई भोट दिनुहोस्
म यो देशलाई संसारकै नमूना विकास दिन्छु’

कोठीका नाइके आउँछ
र भन्छ–
‘दिदी ! म तपाईकै रक्षक
मलाई भोट दिनुहोस्
म यो देशलाई महिलामुक्तिको मञ्च बनाउँछु’

बलात्कारीका नाइके आउँछ
र भन्छ–
‘बहिनी ! मानिसहरू बदमास भए
मलाई भोट दिनुहोस्
म यो देशलाई दैत्यहरूको नाश गर्ने थलो बनाउँछु’

चुनावमा आएका ती मानिसहरू
आमा र बुबाहरूलाई
आफ्नै छोरा हो झैं लाग्छ
दाजु र भाइहरूलाई
आफ्नै सहोदर हो झैं लाग्छ
दिदी र बहिनीहरूलाई
आफ्नै दाजु र भाइ हो झैं लाग्छ

वचन हार्न नसकेर
उनीहरू तिनीहरूलाई नै भोट दिन्छन्
मानौं ती भोट माग्नेहरू
उनीहरूको चामत्कारिक मुक्तिदेव हुन्

जब चुनावको परिणाम आउँछ

हत्याराका नाइके– प्रधानमन्त्री बन्छ
फटाहाका नाइके– गृहमन्त्री बन्छ
गुन्डाका नाइके– रक्षामन्त्री बन्छ
कालो सूचीका ठेकेदार– भौतिकमन्त्री बन्छ
कोठीका नाइके– महिलामन्त्री बन्छ
बलात्कारीका नाइके– कानुनमन्त्री बन्छ

‘अहँ, यो हुनै सक्दैन
देश बर्बाद हुने भो
हामी बर्बाद हुने भयौँ’
हामी आफ्नै पुर्पुरोलाई धारे हात लाउँछौं
र सराप्छौँ

धर्मशास्त्र भन्छ–
‘पाप गर्नेले पापको फल भोग्नै पर्छ ।’

पाप गर्नेहरू हो
अब पापको फल भोग्न तयार होऊ !