गाउँमा जन्मियो, उतै हुर्कियो
तरुण अवस्थामा शहर पसियो

हो, म पाखे नै हो
शहरमा बसेको पाखे

हजारौँ महलका कुनामा, प्रकाश नछिर्ने झ्याल रोजेको छु
त्यही झ्याल भित्रको चिसो कुनामा, आफ्नो संसार कोरेको छु

अचेल
गाउको रहनसहन मन पर्न छाड्यो
गाउँको सम्पत्ति मलाई मतलब भएन
गाउँको समाजले मलाई केही सिकाएन
गाउँको मान्छे, ओ हो कस्तो पाखे
हो म शहरिया बन्दैछु

समाजले मलाई केही दिनु पर्दैन
म एक्लै रमाउन जानेको छु
त्यही एक्लोपनको दुरी घटाउन
कोठाकै ऐना छनेको छु

त्यसैले
सुकिलोमुकिलो हुन हरसम्भव प्रयास गरेकै छु
खानाको परिकार चिन्न भए नि रेस्ट्रुरामा छिरेकै छु
देखेका साधनलाई आफ्नो भनी हिँडेकै छु
घरको पहिचान हरेक गल्लीलाई दिएकै छु

हो, म शहरिया बन्दैछु
आमाले घरलाई सम्हालेको
बाले गरेको संघर्ष मैले बिर्सिसकेँ
त्यही संघर्षको रापमा
समाजले दिएको पहिचानलाई मैले भुलिसकेँ

आज
गाउँको धुलो पचाउने म, मास्क लगाएर हिँडेकै छु
चराहरूको आवाजलाई
गाडीका आवाजसँग साटेकै छु
कलकल बग्ने स्वच्छ खोलानदीलाई
फुटेकै ढलको बगिरहेको पानीजस्तै मानेकै छु
रंगीबिरंगी फुलेका फूलका सुगन्धलाई
फोहोरको चंगुलबाट निस्किएको बासनासँग दाँजेकै छु

हो म शहरीया बन्दै छु !
त्यसैले म पाखे नै हो
शहरमा बसेको पाखे
म पाखे, शहरिया !

बगनासकाली-२, पोखराथोक, पाल्पा