हठात् पुगेँ
मुर्दाहरूको राजधानीमा
सुनसान, एकलास र चिच्याहटमा
मुर्दाहरूको टाउको थियो
चेत र विचार थिएन
मुर्दाहरूको खुट्टा थियो
गन्तव्यको मार्ग थिएन
टुलुटुलु हेरिरहेका थिए मुर्दाहरू
बोल्न आवाज थिएन
सुन्न कान थिएन
मुर्दाहरूको आँखामा
दृष्टिकोण र दूरदर्शिता थिएन
न सिर्जनामा नवीनता थियो
न चालमा गतिशीलता थियो
कुरुप, विरुप, भक्षकहरूको
जमघट रहेछ
मुर्दाहरूको राजधानी
फुत्त कुकुरले हड्डी कुदाएझैँ
खोसिँदोरहेछ निर्धाहरूको आहारा
झोसिँदोरहेछ एकअर्कामा
कलहको राँको र बजाइँदोरहेछ
एकहोरो शङ्ख
मुर्दाहरूको राजधानीमा
चिहानका प्रत्येक खाल्डाबाट
जुरूक्क उठेर
सत्तामा धावा बोल्दा रहेछन् मुर्दाहरू
यहाँ बाँचेकालाई नि सत्ताकै पीर छ
खरानी बनेकालाई नि सत्ताकै पीर छ
घरमा आगो लगाएर
भस्म लेपन गरी निवस्त्र नाच्दा
रहेछन् मुर्दाहरू
कोही पुत्ला जलाउँदा रहेछन्
कोही कुर्सी भाँच्दा रहेछन्
एकहोरो कराउँदा रहेछन्
अपशब्द बोल्दा रहेछन्
सडक जाम गर्दा रहेछन्
आफ्नै बद्नाम गर्दा रहेछन्
मुर्दाहरूको पनि विदेश भ्रमण
हुँदो रहेछ
रात्री भोज हुँदो रहेछ
अनेक स्वादमा बेस्वाद बाँच्दा रहेछन्
आफ्नै राजधानीमा मुर्दाहरू
बस्तीमा सुनसान हुँदा
मुर्दाहरूको चेतना जाग्दोरहेछ
मुर्दालाई अचेत राख्न
हामी सचेत हुनुपर्ने रहेछ
नत्र
हामी मुर्दाहरूको राजधानीमा
आश्रित हुने रहेछौँ ।