पल्लाघरे काका एक्लै छन्
गाउँमा यस्ता धेरै घर छन्
जहाँ मान्छे एक्लै बस्छन्
घरलाई कुरिरहेका छन्
बर्सेनि चाडबाड आउँछ
चाडबाड मनाउन
सहर बसेका
विदेश पसेका
आफ्ना छोराछोरी आउँछन्
बुहारी आउँछन्
आफन्तहरू आउँछन्
मायाका मुनाहरू
आफ्ना लालाबालाहरू आउँछन्
केही समय उज्यालो बनाउँछन् र जान्छन्

त्यही छोटो खुसीका लागि
वर्षका धेरै लामो समय एक्लै बिताउँछन्
एक घरका एक मान्छे
पल्लाघरे काकाजस्तै

पल्लाघरे काकाको बेग्लै कथा छ
उमेरमा परिस्थितिले दुइटी श्रीमती भित्र्याएर पनि आज एक्लै छन्
जिन्दगीले चार दशक काट्दा कान्छीले पनि संसार छाडिन्
आफ्नी आमा र परिवारकी जेठी दिदीलाई
पालन पोषण गर्दागर्दै उहाँहरूले पनि छाडे
धेरै वर्ष पहिला मधेश झरेका
आफ्ना दाजु गाउँमै फर्किए
सन्तानविहीन दाजुको एकल जिन्दगीको सहारा पनि उहाँ नै हुनुभो
दाजु भाइको स्नेहपूर्ण पारिवारिक यात्रा चलिरहेको थियो
खै के भो कुन्नि
आफ्नै गाउँमा दाजुको हत्या भयो
आजसम्म हत्यारा पत्ता लागेन
लासले बयान दिन सकेन
बयान दिने जिउँदाहरू सबै बिकाउमा परे
न्यायका लागि लडिदिनेहरू पनि कमजोर भए
जिन्दगी गाउँमै बिताएका काकालाई
न्यायका लागि लड्ने हिम्मत थियो
तर बलियो सहारा भएन्
लुकेर कति रोए होलान्
आँशु सकिए
आज घरमा एक्लै छन्
पल्लाघरे काका

छोरा र छोरीको भविष्य बनाउन
आफूले सक्ने सबै कर्म गरेका एक इमान्दार बा
आफ्ना छोराको प्रगतिमा भने खुसी छन्
छोरी धेरै वर्ष भो बा भेट्न नआएको पनि
सन्चै छ भन्ने खबर सधैँ सुन्न पाउँदा मात्रै
पनि मन खुसी हुन्छ
तिहारमा भाइ पुग्छ दिदी भेट्न
यता बा एक्लै बिताउँछन् ती पर्व
ओल्लो घर, माथ्लो घरमा रमझम हुन्छ
मन अमिलिँदो हो
घरभित्रै पस्छन्
बाहिर हैन, भित्रै बस्छन्
बुढेसकालमा एक्लै बस्छन्
पल्लाघरे काका

उमेरले सात दशक टेकेका
यही गाउँमा
मान्छेको भिडभाड देखेका काका
अहिले मात्र घरहरू देख्छन्
हरेक घरमा एक वा दुई मान्छे बस्छन्
कति घरमा त ताला मारिएको छ
चौतारीमा बसेर भलाकुसारी गर्ने दौँतरी पनि
कम हुँदै गएका छन्
विगत र वर्तमान
धेरै फरक देख्छन्
पहिला वृद्धवृद्धालाई
स्याहार गर्ने मान्छे हुन्थे घरमा
खाना बनाएर खुवाउँथे
अहिले सबैजसो घरमा
वृद्धवृद्धाहरू मात्रै बस्छन्
सकी‑नसकी
आफैँ बनाउँछन् र खान्छन्
सबैले जसै गर्छन्
पल्ला घरे काका

जन्मेको आधा वर्ष नपुग्दै
आफ्नो छोरोलाई पतिको काखमा छाडेर
आफूले संसार छाडेकी आमाको अभाव
महसुस हुनै नदिई हुर्काएका हुन् छोरा
पल्ला घरे काकाले
आफ्नो सारा सपना छोराछोरी माथि देखेका
काकाका आफ्नै सपनाहरू भने थिए कि थिएनन् कुन्नी ?
छोराछोरीका सपना र चाहना पूरा गर्न
जीवनका अधिकांश वर्षहरू
शरीरमा पूरा लुगा नलगाई बिताए
अहिले सबथोक छ
बोल्ने साहारा रेडियो छ
रेडियोमा गीत बजिरहन्छ
साथी त्यही हो
समाचार सुनाउँछ
एकोहोरो बोलिरहन्छ
ऊ सुनाइरहन्छ, काका सुनिरहन्छन्
बाहिर पिँढीमा बसेर गाउँ नियाल्छन्
सबै सुनसान छ
घरको बाटो हुँदै हिँड्छन् बटुवाहरू
बोलाउँछन्, बोल्छन्
सहयोगी छन्
निष्कलंक छन्
एक्लै बस्छन्
आफ्नाहरू आउने बाटो हेरेर
एक्लै बिताउँछन् वर्षहरू
मेरा बा का
बाल सखा
पल्लाघरे काका ।

सुनकोशी – ६, सिन्धुली
हाल: पोखरा