जमाना
बहर : मुतकारिब मुसम्मन सालिम
जमाना बुझेको यहाँ काे छ हाेला
युगौँदेखि हाेला बगेकै छ खाेला
अनेकौं यहाँ छन् लुकेका रहस्य
सुनेको छु मैले बाेलेकाे अबाेला
पढ्यौँ वेदका मन्त्र- सूक्ति तथापि
यहाँ शान्ति खाेज्दै छ बारुदकाे गाेला
सहरमा छ अग्लो महल आज उनकाे
हिजो माग्न हिँड्थे भिरी एक झाेला
म हिँड्दै थिएँ माहुरी खाेज्न भन्दै
अरिङ्गालका देखिए मात्र पाेला ।
◾️डा. घनश्याम परिश्रमी
•~<>~<>~<>•<>~<>~<>~•
कसम
बहर : मुतकारिब मुसम्मन सालिम
कसम प्रेमको क्षेत्रफल हुन्छ हुन्न
नदीझैँ बग्याे आँसु जल हुन्छ हुन्न ?
किनूँ भन्छु लाेहा छँदै छैन दाैलत
स्वयम् आफ्नो हड्डीकाे गल हुन्छ हुन्न?
उदाएर पूर्वी दिशा ढल्छ पश्चिम
सही भन्नू भास्कर अचल हुन्छ हुन्न?
सबै खेल खेल्दा रहर लाग्छ खेल्ने
छिनालेर मुन्टाेकाे बल हुन्छ हुन्न?
पढेका युवा सब मुलुक छाेड्न थाले
ए सरकार डाक्ने पहल हुन्छ हुन्न ?
▪️दुर्गा क्षेत्री
नवलपरासी
•~<>~<>~<>•<>~<>~<>~•
फिँजाएर
बहर : मुतकारिब मुसम्मन सालिम
फिँजाएर आफ्ना दुई हात आऊ
लिई प्रेम गाढा बनी पात आऊ!
हिँडिन्छन् अनेकौँ खुला मार्ग ज्यादा
सँगाली तिमी शक्तिका खात आऊ !
छ यो सृष्टि चौडा पुरानो छ पारा
तिमी भोलि सच्चा भई जात आऊ!
अनेकौँ म देख्दै छु नै झोर झञ्झा
सही सक्नु छैनन् मिली बात आऊ!
मिलाएर सारा सँगै साथ रम्ने
कुनै शान्त एकान्तको रात आऊ!
▪️कलानिधि दाहाल
•~<>~<>~<>•<>~<>~<>~•
हेरेर
बहर : मुतकारिब मुसम्मन सालिम
तिमीलाई हेरेर आँखा नथाकून्
रमाओस् सधैं मन, अधर मस्त हाँसून्।
धेरै फूलको बीचमा छौ लुकेकी
म आई चिनौंला कसैले न देखून् ।
बलेको छ आगो निभाउन सकिन्न
सबैले यही सत्य हो भन्ने जानून् ।
चुनावी मेलामा कुरा छन् सबैका
कसैले देखाऊन् ,कसैले लुकाऊन्।
नसोधी नलानू कसैका खजाना
महलमा सुतेका कुमारी न जागून् ।
▪️डा.देवी पन्थी
•~<>~<>~<>•<>~<>~<>~•
कला चन्द्रमाकी
मुतकारिब मुसम्मन सालिम
कला चन्द्रमाकी भई झल्मलायौ
सुधाकी नदी भै सँगै कल्कलायौ
उठे ज्वारभाटा जवानी छिचोली
तिमी भित्रभित्रै उठी सल्बलायौ
जसै रात आयो सबैथोक बिर्सें
तिमीमात्र सर्वाङ्गमा ढल्पलायौ
न छन् भोकतिर्खा न छन् प्यास केही
ममा सौम्य आकारले तल्तलायौ
जसै चाट्नखोजें सबै स्वाद फेर्दै
निकालेर गर्मी निकै खल्खलायौ ।
▪️छत्रपति दाहाल
•~<>~<>~<>•<>~<>~<>~•
खुसी
मुतकारिब मुसम्मन सालिम
खुशी खोज्न मान्छे सधैँ दाउ गर्छन्
नभेटे स्वयम् शत्रु बन्छन् र मर्छन्
अरू का खुशी मा नहाँसी नहाँसी
फगत ओठ च्याती सबै सामु पर्छन्
कतै नक्कली नाम तेर्स्याउने का
बनी भक्त तन सुम्पिँदै घाट तर्छन्
गरी मान मर्दन हिँडेकाहरू मा
बडो मान सम्मान का फूल छर्छन्
सही वास्तविकता उजागर नगर्दा
सुकन्या गली मा अनायास झर्छन् ।
▪️विमुन्स
•~<>~<>~<>•<>~<>~<>~•
ठूलै प्वाल
बहर : मुतकारिब मुसम्मन सालिम
ठुलै प्वाल पार्दै पसेका पस्यै छन्
नयाँ सर्प बन्दै डसेका डस्यै छन्
छ जो धूर्त मान्छे बची छाड्छ भाग्दै
निरपराधी किन्तु फसेका फस्यै छन्
युवा शक्ति रोक्ने छ के खै उपाय
मुलुक छोड्न झोला कसेका कस्यै छन्
बचेका बच्यै छन् हो जो खस्नुपर्ने
जो हो बच्नुपर्ने खसेका खस्यै छन्
छँदै छैन नौलो उनै छन् पुराना
जमाएर आसन बसेका बस्यै छन् ।
▪️यज्ञलाल सुवेदी
बुटवल, रूपन्देही
•~<>~<>~<>•<>~<>~<>~•
खुसी
बहर : मुतकारिब मुसम्मन सालिम
खुसी खाेज्न मान्छे नयाँ चाल गर्छ
खुराफात गर्दै कयौं जाल छर्छ
मिलाएर मेसाे सफल बन्छु भन्दा
गुमाएर माैका अझैँ टाट पर्छ
नत्यागेर लालच निजी लाभ खाेज्दा
हियाेभित्र आगाे नजानेर भर्छ
उकालो छ यात्रा नजानेर मान्छे
उँभाे जान खाेज्दा उँधाे धेर झर्छ
हुँदा धर्म छाडा हिजोआज मान्छे
हिरा फाेर्न मेसाे नपाएर मर्छ ।
▪️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
•~<>~<>~<>•<>~<>~<>~•
म आगो
मुतकारिब मुसम्मन सालिम
म आगो बनूँला तिमी बन्नू पानी
म राजा बनूँला तिमी बन्नू रानी
भएको छ हानि ठुलो बन्न खोज्दा
तिमी साथ मेरो सधैँ बन्नू सानी
छ संसार स्वार्थी दिएको छ पीडा
सबै दु:ख हर्ने तिमी बन्नू दानी
अनौठो नसा देख्छु मैले तिमीमा
सदा जोस भर्ने तिमी बन्नू ज्ञानी
दिएको छु माया भरिपूर्ण मैले
सहनशीलताकी तिमी बन्नू खानी ।
▪️ मीरा ज्ञवाली (आस्था)
रूपन्देही
•~<>~<>~<>•<>~<>~<>~•
थियौँ पोखरामा
बहर : मुतकारिब मुसम्मन सालिम
थियौँ पोखरामा सँगै वेश हामी
ठुला कवि छिमेकी दुवै देश दामी
समारोह नेपाल ती भारतीको
थियो भव्य माहोल नै भेश नामी
गजल पारखीका मिल्यो सुन्न भाका
अरू काव्य मीठा निकै लेश कामी
कथा वाचकी अन्य ज्ञानी महात्मा
थिए विज्ञ ठूला सधैँ केश गामी
दियो झल्ल बालेर सञ्चालनै भो
दुवै देशको गान पैले सलामी ।
▪️रसज्ञ छहरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।