विमानस्थलको प्रस्थान कक्षमा
झरेका आँसुहरु
पोल्टाभरि सँगालेर
आमाको ओसिला आखाँको झझल्को
मनको फ्रेममा कैद गरेर
आफन्तको न्यानो अँगालोबाट छुट्टिँदैगर्दा
पिडाले दर्फराएका
चोटहरूलाई मनभित्रै दबाएर
आफ्नो आँसु लुकाउँदै
उडेको मेरो मन
यतिबेला बर्सिरहेको छ बेपर्वाह
यो बिरानो उडानमा ।

विनिशा सापकोटा

विनिशा सापकोटा

यस्तो लागिरहेछ –
म दुई किनारको बिचमा छु
र तैरिरहेकी छु एक विशाल सागरबिच
जसको दुबै किनारमा छन् मेरो दुई भिन्न अस्तित्व
एउटा प्रस्थानबिन्दु पश्चात् अर्को आगमन कुरिरहेको छ मलाई
विछोडको पीडा
र मिलनको खुसीको दोसाँधमा छु ।

यतिखेर
म सम्झिरहेकी छु मेरी आमाका दुई भिन्न अनुहार ।

रसिला आँखामा
मेरो सुन्दर भविष्यको निश्चिन्तताको खुसी भरिएको
मलाई अन्माएर पराइघर पठाउँदाको त्यो क्षण
अनि
दैलो अगाडि बिदाईको टीका लगाइदिँदाको
अनिश्चितताको डरसँगै अक्षता मुछेर
मेरो निधारमा रातो टीका लगाइदिई
बिदाई गर्दाको त्यो क्षण ।

म सम्झिरहेछु भावी मिलनको क्षण
मेरो आगमनमा प्रतिक्षारत एक मुटु
जो आँखामा प्रेमको बुकी बोकेर पर्खिरहेको छ
मलाई थाहा छ –
त्यो ढुकढुकी
मेरै स्पन्दनको पर्खाइमा छ

यो ढुकढुकी पनि आत्तुर छ
धड्किन उसैसँग एक साथ ।

तर कस्तो अचम्म !
अन्मिदै गरेकी चेलीको जस्तै
यतिखेर
अन्यमनस्क छन् मेरा भाव ।

एकातिरबाट चोइटिएर
अर्कोतिर जोडिनु नै जीवन रहेछ,
अघिसम्म बर्सिरहेका आँसु बिस्तारै मथ्थर हुँदैछन्
सम्झाउँदैछ मन आफैँलाई ।

यो गन्तव्यको अवतरणले
मलाई एक खुसीको संसारमा पुर्याउनेछ
जहाँ मेरो मुटु
ढुकढुकीमा स्वास भर्न
मेरै प्रतीक्षा गरिरहेको छ ।