कुर्सी काठैको हो
यसैले अग्राधिकार जनाएर
आसन जमाउन खोज्दैछन्
कठपुतलीहरू

जिल्ल उभिएका छन्
कुर्सीका असली हकदारहरू
वाल्ल टोलाएका छन्
कुर्सीका अब्बल योजनाकारहरू

म्युजिकल चेयरमा जस्तै
यतिखेर कुर्सी
घेराबन्दीमा छ
मात्र यसमा आसन जमाउने
समयको पर्खाइमा छन्
आदेशको पर्खाइमा छन्
भक्त कठपुतलीहरू
दास कठपुतलीहरू
सेवक कठपुतलीहरू

म देख्दैछु
आलोपालो
कुर्सीको प्रान्तीय भागबण्डा पो भइरहेछ
गदगद खुशीमा रमाइरहेछन्
मैदानमा आसन जमाउनेहरू
आधा खुसीमै रमाइरहेछन्
अडेस, तान र खुट्टो भाग समाउनेहरू

अनन्त बधाई छ
कुर्सीवाल महोदयहरू !

तर यति प्रश्न
म जरूर सोध्न चाहन्छु
तिमीहरूमध्ये
कसले भेट्टायौ कुर्सीको मुटु
र जोड्न सक्यौ फेरि
मुटुको धड्कन ?